पर्सा पोस्ट, चैत १६ गते, वीरगञ्ज ।
वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिग (बीपीएल–३) को ट्रफी भव्य रूपमा सार्वजनिक गरिएको छ। प्रतियोगिताको ट्रफी पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले आइतबार वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडि आयोजित कार्यक्रममा अनावरण गरेका हुन्।
सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने यस प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो। कार्यक्रममा बीपीएल–३ मा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थिति रहेको थियो, जसले प्रतियोगिताप्रति खेलाडीहरूको उत्साह झल्काएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हरि पन्तले वीरगञ्जमा क्रिकेटजस्ता खेलकुद गतिविधिले युवालाई सकारात्मक मार्गतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
संयोजक सुमित कादमियाले प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु र वीरगञ्जको खेलकुद वातावरणलाई थप चलायमान बनाउनु रहेको बताए। उनले बीपीएल–३ अघिल्ला संस्करणभन्दा अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक हुने दाबी गरे।
कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए।
आयोजकका अनुसार, बीपीएल–३ छिट्टै सुरु हुने तयारीमा रहेको छ भने प्रतियोगिताले वीरगञ्जका क्रिकेट प्रेमीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धा र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार तथा सम्मानको व्यवस्था समेत गरिने जनाइएको छ।