पर्सा पोस्ट , चैत १६ गते , बिरगंज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पूर्ण पालना नगरेसम्म पत्रकारिताले दशकौँदेखि आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन्।
नेपाल पत्रकार महासंघ पर्साले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको “जिम्मेवार पत्रकारिता र पत्रकार आचारसंहिता” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितालाई मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउन आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेकोमा जोड दिएका हुन्।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सूचनाको तीव्र प्रवाहसँगै गलत र अपुष्ट समाचार फैलिने जोखिम बढेको उल्लेख गर्दै सबै सञ्चारकर्मीलाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, पूर्व सचिव तथा विश्व पत्रकार महासंघ एशिया–प्रशान्तका सचिव दीपेन्द्र चौहान, पर्साका पूर्व अध्यक्ष शंकर खतिवडा, सत्रुघ्न नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुल्सी भण्डारी लगायतले पत्रकारिताको विश्वसनीयता जोगाउन आचारसंहिता व्यवहारमै लागू गर्नुपर्ने धारणा राखे।
वक्ताहरूले लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारको संरक्षणमा नेपाल पत्रकार महासंघले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै देशकै अग्रणी सामाजिक संस्थाको रूपमा यसको साख जोगाउन जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए।
उनीहरूले महासंघले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसके पर्सा जिल्लामा मात्र होइन, समग्र देशभर पत्रकारिताप्रतिको जनविश्वास कमजोर बन्ने चेतावनीसमेत दिएका थिए।
कार्यक्रममा पत्रकारहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षामा महासंघले निर्वाह गर्दै आएको भूमिकाको पनि चर्चा गरिएको थियो। लामो संघर्ष र योगदानका माध्यमबाट स्थापित महासंघले आजको अवस्थामा आइपुग्दा पत्रकारहरूको साझा छाता संगठनको रूपमा महत्वपूर्ण स्थान बनाएको वक्ताहरूले उल्लेख गरे।
वक्ताहरूले पत्रकारहरूलाई समाज, राष्ट्र तथा आवाजविहीन समुदायको आवाज बन्ने जिम्मेवारी सम्झाउँदै सत्यतथ्य, निष्पक्ष र जनमुखी समाचार सम्प्रेषण गर्न आग्रह गरे।
उनीहरूले भने, “एउटा चिकित्सकको लापरबाहीले एक बिरामीलाई असर पार्न सक्छ, तर एउटा गलत समाचारले समाज र राष्ट्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक सन्देश फैलाउन सक्छ।”
त्यसैले समाचार तयार पार्दा त्यसको प्रभाव, सत्यता र सामाजिक जिम्मेवारीलाई ध्यानमा राख्नु अपरिहार्य रहेको उनीहरूको जोड थियो। आचारसंहिताको पालना गर्दै प्रस्तुत गरिएका समाचारप्रति जनताको विश्वास उच्च हुने र त्यस्ता समाचार नै दीर्घकालीन रूपमा प्रभावकारी हुने वक्ताहरूको निष्कर्ष थियो।
अन्तरक्रिया कार्यक्रम महासंघ पर्साका सहसचिव अजय चौरसियाले स्वागत मन्तव्य र सचिव विजय चौहानले कार्यक्रम सञ्चालन गरेका थिए।