पर्सा पोस्ट, चैत ११ गते, वीरगञ्ज ।
जिल्ला सरकारी वकिल कार्यालय, पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–१३ स्थित वीरगञ्ज स्कुल अफ लमा “समुदायमा सरकारी वकिल” शीर्षक अन्तर्गत संवाद कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्याम्पस प्रमुख तथा अधिवक्ता चन्द्रिका पटेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी उपप्राध्यापक सन्तोष यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा BALLB अध्ययनरत करिब ४० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न कानुनी विषयमा जिज्ञासा राख्दै उत्साहजनक रूपमा अन्तरक्रियामा भाग लिएका थिए। अध्यक्ष गुप्ताले सरकारी वकिलको भूमिका, जिम्मेवारी र कार्यप्रणालीबारे विस्तृत जानकारी दिँदै न्याय सम्पादन प्रक्रियामा सरकारी वकिलको महत्वपूर्ण योगदान रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमका क्रममा लागू औषध सम्बन्धी अपराध, बलात्कार, जबर्जस्ती करणी, बाल विवाह लगायत संवेदनशील मुद्दाहरूबारे जानकारी दिइएको थियो। साथै सहभागी विद्यार्थीहरूसँग खुला संवाद गरी व्यवहारिक कानुनी ज्ञान आदान–प्रदान गरिएको थियो।
यस्ता कार्यक्रमहरूले विशेषगरी युवा तथा विद्यार्थीहरूमा कानुनी ज्ञान र सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले समेत यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन ना.सु. कृष्ण बिहारी राय यादवले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक जिल्ला न्यायाधिवक्ता अनन्तराज न्यौपानेले राख्नुभएको थियो।