पर्सा पोस्ट, चैत ०२ गते, वीरगञ्ज ।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनका खेलहरू अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएका छन्। वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी प्रतियोगिताले दिनप्रतिदिन खेलप्रेमीहरूको आकर्षण बढाउँदै लगेको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कुल १० टोली सहभागी रहेको प्रतियोगितामा २३ खेल हुने तालिका छ। विजेता टोलीले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।
चौथो दिनको पहिलो खेलमा ड फोग फाइटर कैलाश र धौलागिरी बौदिमाईबीच भएको प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो। १३१ रनको लक्ष्य पछ्याएको धौलागिरी बौदिमाईले १४.५ ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाउँदै ५ विकेटको जित हात पार्यो।
त्यसैगरी दोस्रो खेलमा अन्नपूर्ण टाइगरले उत्कृष्ट प्रदर्शन गर्दै निलगिरी जगर्सलाई ९ रनले पराजित गर्यो। अन्नपूर्णले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा निलगिरी जगर्स ११० रनमै सीमित रह्यो।
प्रतियोगिताका बाँकी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ भने स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति जारी रहने आयोजकले विश्वास व्यक्त गरेको छ।