पर्सा पोस्ट, फागुन २६ गते, वीरगञ्ज।
समाजलाई शान्त, सुरक्षित तथा लैंगिक हिंसामुक्त बनाउने उद्देश्यका साथ वीरगञ्जमा लैंगिक हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ग्रिनसिटी सामुदायिक प्रहरी आदर्शनगरको अनुरोधमा नेपाल प्रहरीले उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमअन्तर्गत वीरगञ्जको मुख्य बजार क्षेत्र आदर्शनगर चौकमा सर्वसाधारणलाई लक्षित गरी लैंगिक हिंसाबारे जानकारीमूलक पर्चा तथा पम्पलेट वितरण गरिएको थियो। ग्रिन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको निर्देशनमा सञ्चालन गरिएको कार्यक्रममा प्रहरी टोलीले सर्वसाधारणलाई लैंगिक हिंसाको स्वरूप, असर तथा रोकथामका उपायबारे जानकारी गराएको थियो।
उक्त अभियानमा ग्रिन सिटी सामुदायिक प्रहरी आदर्शनगरका वरिष्ठ हवल्दार कुमार बिक, प्रहरी जवान अमर सिंह साउद र प्रहरी जवान सतिराम परियार सक्रिय रूपमा सहभागी भएका थिए। उनीहरूले आदर्शनगर क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा हिँडिरहेका सर्वसाधारणलाई पर्चा वितरण गर्दै लैंगिक हिंसाबारे सचेतना फैलाएका थिए।
वितरण गरिएको पर्चामा लैंगिक हिंसा के हो, यसका विभिन्न प्रकार तथा यसलाई नियन्त्रण गर्ने उपायबारे विस्तृत जानकारी समेटिएको थियो। जानकारी अनुसार लैंगिक हिंसा समाजमा रहेको लिंगभेद, अन्धविश्वास, कुरीति, परम्परा तथा असमान सामाजिक सोचका कारण उत्पन्न हुने हिंसाको रूप हो, जसले महिला मात्र नभई पुरुषलाई समेत प्रभावित पार्न सक्छ।
पर्चामा लैंगिक हिंसाका विभिन्न प्रकारहरू पनि उल्लेख गरिएको छ। जसमा घरेलु हिंसा, शारीरिक हिंसा, सामाजिक हिंसा, यौनजन्य हिंसा, मानसिक हिंसा तथा आर्थिक हिंसा समावेश छन्। घरभित्र हुने कुटपिट, यातना, छोरी जन्मिएको भन्दै अपमान गर्ने जस्ता व्यवहार घरेलु हिंसाअन्तर्गत पर्दछन् भने कुटपिट, पोल्ने, धम्की दिने तथा श्रम शोषण जस्ता क्रियाकलाप शारीरिक हिंसाका उदाहरण हुन्।
यसैगरी समुदायका गतिविधिबाट वञ्चित गराउने, सभासम्मेलनमा बोल्न नदिने तथा धुम्टो प्रथा जस्ता कुरीतिहरू सामाजिक हिंसाअन्तर्गत पर्दछन्। बलात्कार, यौन शोषण, जबरजस्ती करणी, बालविवाह तथा जबरजस्ती गर्भपतन यौनजन्य हिंसाका उदाहरण हुन् भने मानसिक तनाव दिने, भेदभाव गर्ने तथा छुवाछुत जस्ता व्यवहार मानसिक हिंसामा पर्दछन्। आश्रय, खानपान तथा आर्थिक स्रोतबाट वञ्चित गराउने र सम्पत्तिमा अधिकार नदिनु आर्थिक हिंसाका रूपहरू हुन्।
लैंगिक हिंसा अन्त्य गर्न समाजमा व्यापक जनचेतना फैलाउनु, लैंगिक संवेदनशील व्यवहार अपनाउनु, कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु र स्थानीय तह तथा प्रशासन सक्रिय बन्नु आवश्यक रहेको पर्चामा उल्लेख गरिएको छ। साथै निगरानी समूह तथा बाल क्लब गठन, अभिभावक सचेतना कार्यक्रम सञ्चालन र सरोकारवालाबीच अन्तरक्रिया बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
उक्त जनचेतनामूलक कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय वीर्ताको सहयोगमा सञ्चालन गरिएको ग्रिन सिटी सामुदायिक प्रहरीले जनाएको छ। यस अभियानले समाजमा लैंगिक हिंसाविरुद्ध चेतना फैलाउँदै सुरक्षित, सभ्य र समतामूलक समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।