भारत – नेपाल मितेरी पुलमा सन्युक्त रक्तदान शिविर : ६० जनाले गरे रक्तदान , सिमापार मित्रताको सन्देश

Date:

पर्सा पोस्ट, फागुन ०९ गते, वीरगञ्ज ।
लायन्स क्लब अफ रक्सौल (भारत) र लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभ (नेपाल) को संयुक्त आयोजनामा भारत–नेपाल मितेरी पुल परिसरमा भव्य रक्तदान शिविर सम्पन्न भएको छ। मानव सेवाको उद्देश्यसहित आयोजित उक्त शिविरमा दुवै देशका नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

शिविरमा नेपालका ३५ र भारतका २५ गरी जम्मा ६० जनाले रक्तदान गरेका छन्। सीमावर्ती क्षेत्रमा आयोजना गरिएको यस कार्यक्रमले सामाजिक सेवासँगै दुई देशबीचको सद्भाव र आत्मीयतालाई पनि झल्काएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक शान्ति राज कोइराला तथा सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। यसैगरी नेपाल र भारतका प्रशासन, सुरक्षा निकाय तथा भन्सार कार्यालयका अधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले रक्सौल–वीरगञ्जका लायन्स क्लबहरूले गरेको संयुक्त पहललाई “ऐतिहासिक र उदाहरणीय” कार्यको संज्ञा दिनुभयो। उहाँले मैत्री पुलको सौन्दर्यीकरणमा नेपालले गरेको योगदानको चर्चा गर्दै यस्ता मानवीय कार्यक्रमहरूले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

रक्सौलका एसडीएम मनीष कुमारले रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रत्येक स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो। लायन्स क्लब अफ रक्सौलका अध्यक्ष बिमल कुमार सर्राफले नेपाल–भारतबीचको परम्परागत “रोटी–बेटी” सम्बन्धलाई स्मरण गर्दै संयुक्त रक्तदानले भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाएको धारणा राख्नुभयो।

वीरगञ्जका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यक्रमको सराहना गर्दै सीमावर्ती क्षेत्रमा यस्ता सामाजिक अभियान निरन्तर सञ्चालन हुनुपर्ने बताउनुभयो। ग्रिनसिटी वीरगञ्जका जयप्रकाश खेतानले यसलाई नेपाल–भारत मित्रताको सशक्त उदाहरणका रूपमा व्याख्या गर्नुभयो। कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभका अध्यक्ष लायन डा. नीरज सिंह लगायत सामाजिक अभियन्ता, स्वयंसेवक तथा स्थानीय सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।

आयोजकका अनुसार, मानव सेवाको भावनाबाट प्रेरित उक्त संयुक्त रक्तदान शिविरले सीमापार सहकार्य, आपसी विश्वास र भाइचारालाई अझ बलियो बनाएको छ। साथै आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...