पर्सा पोस्ट, फागुन ०९ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका–३१ का अधिकांश भद्र–भलादमी तथा बुद्धिजीवीहरूको एक समूहले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी प्रवेश नगरीकनै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्ने भद्र सहमति गरेका छन्।
हिजो अबेर राति स्थानीय शिव मन्दिरमा बसेको बुद्धिजीवी तथा सामाजिक अगुवाहरूको सामूहिक बैठकले “व्यक्तिगत रूपमा जुनसुकै दलमा आबद्ध रहे पनि यसपटक परिवर्तनको पक्षमा उभिने” निष्कर्ष निकालेको हो। बैठकमा सहभागीहरूले विगत करिब पैँतीस वर्षदेखि मुलुकमा जकडिएको कुशासन, भ्रष्टाचार, बेथिति र अनियमितताको अन्त्यका लागि वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
उनीहरूको भनाइमा देश अहिले परिवर्तनको संघारमा उभिएको छ, र यस्तो अवस्थामा पार्टीगत सीमाभन्दा माथि उठेर इमानदार नेतृत्वको पक्षमा मत दिनु आवश्यक छ। “हामी पार्टी प्रवेश गर्नेभन्दा पनि परिवर्तनको अभियानलाई साथ दिने पक्षमा छौं,” बैठकमा सहभागी एक अगुवाले बताए।
# पर्सा–१ मा चुनावी समीकरण फेरिने संकेत:
देशभर फैलिँदै गएको परिवर्तनको बहससँगै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहोलमा समेत उल्लेख्य तरंग देखिन थालेको छ। विशेषगरी बुद्धिजीवी र सामाजिक प्रतिष्ठा राख्ने व्यक्तिहरूको मौन समर्थनले संगठनात्मक उपस्थितिसँगै जनाधार पनि फराकिलो बन्दै गएको संकेत गरेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
आज सम्पन्न कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूले औपचारिक पार्टी प्रवेश नगरे पनि आफ्नो प्रतिबद्धता परिवर्तन र सुशासनको पक्षमा रहने स्पष्ट पारेका छन्।
रास्वपा पर्सा सभापति एवं पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले फरक विचार र सिद्धान्त बोकेका व्यक्तित्वहरूको साथ र समर्थनले आफू उत्साहित भएको बताए। “अब परिवर्तनको आवाज घर–घरमा पुग्नेछ,” उनले भने, “जनताले पुरानो शैलीको राजनीति होइन, इमानदार नेतृत्व र जवाफदेही शासन खोजेका छन्।”
उनले आगामी निर्वाचनलाई केवल दलगत प्रतिस्पर्धा नभई सुशासन र पारदर्शिताको एजेन्डामा जनमत दिने अवसरका रूपमा चित्रित गरे।
पर्सा–१ मा बढ्दो चुनावी सक्रियतासँगै विभिन्न दलका उम्मेदवारहरू घरदैलो तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। तर वीरगञ्ज–३१ का बुद्धिजीवीहरूको यस प्रकारको सामूहिक भद्र सहमतिले क्षेत्रीय राजनीतिमा नयाँ सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।