पर्सा पोस्ट , असोज ०४ गते , पोखरा ।उपभोक्ता हित संरक्षण मञ्च नेपालले पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, उपभोक्ता अदालतको आवश्यकता तथा नसर्ने रोग नियन्त्रणका विषयमा सरोकारवालाबीच गहन छलफल गरिएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योती बानियाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश देवकुमार गिरी रहेका थिए। कार्यक्रममा कास्कीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौला, कास्की बार एसोसिएसनका अध्यक्ष अधिवक्ता गणेश आले, स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मनमोहन मिश्र लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा डा. मनमोहन मिश्रले नसर्ने रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नसर्ने रोगको बढ्दो जोखिम, त्यसको न्यूनीकरण तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी गराएका थिए। त्यस्तै, मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाले उपभोक्ता अदालतको आवश्यकता र औचित्यका विषयमा आफ्नो प्रस्तुतीकरण राखेका थिए।
छलफलमा सहभागी वक्ताहरूले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको अधिकार भएकोमा जोड दिएका थिए। नेपालको संविधानले नै उपभोक्ताको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै बजारमा उपलब्ध हुने वस्तु तथा सेवा गुणस्तरीय, सुरक्षित र उपभोक्तामैत्री हुनुपर्ने धारणा उनीहरूले राखेका थिए।

वक्ताहरूले पछिल्लो समय परम्परागत वस्तु तथा सेवासँगै डिजिटल कन्टेन्ट र डिजिटल सेवाको प्रयोगसमेत तीव्र रूपमा बढिरहेको अवस्थामा उपभोक्ता अधिकारको दायरा पनि सोहीअनुसार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। डिजिटल माध्यमबाट प्रदान गरिने सेवा तथा सामग्रीमा समेत उपभोक्ताको अधिकार, पारदर्शिता, गुणस्तर र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा उपभोक्ता, व्यवसायी र सरकार तीनै पक्ष उपभोक्ता अधिकारप्रति गम्भीर र जिम्मेवार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। बजारमा गुणस्तरहीन वस्तु तथा सेवा, भ्रामक सूचना, अनुचित व्यापारिक अभ्यास र उपभोक्तालाई पर्ने विभिन्न समस्याको प्रभावकारी समाधानका लागि नियमनकारी निकायलाई थप सक्रिय बनाउनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
उपभोक्तालाई न्यायमा सहज पहुँच सुनिश्चित गर्न उपभोक्ता अदालतको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै वक्ताहरूले उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताएका थिए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम, गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल र उपभोक्ता हित संरक्षण मञ्च नेपालका गण्डकी प्रदेश अध्यक्ष पूर्ण पौडेलले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन मञ्चकी गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङले गरेकी थिइन्। छलफलले उपभोक्ता अधिकार संरक्षण, गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चितता, डिजिटल उपभोक्ता अधिकार र नसर्ने रोग नियन्त्रणका विषयमा सरकार, व्यवसायी, नागरिक समाज तथा उपभोक्ताबीच सहकार्यको आवश्यकता औंल्याएको थियो।