पर्सा पोस्ट , असोज ०१ गते , काठमाडौं ।
इन्टरनेट सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्तालाई परेको क्षतिका सम्बन्धमा उपभोक्ता अदालतले महत्वपूर्ण फैसला सुनाउँदै क्लासिक टेक प्रालिले साढे २ लाख रुपैयाँ (२ लाख ५० हजार) क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको छ। इन्टरनेट सेवा प्रदायकको लापरवाहीबाट उपभोक्तालाई भएको क्षतिमा क्षतिपूर्ति भराउने यो फैसला उपभोक्ता अधिकारका दृष्टिले ऐतिहासिक निर्णयका रूपमा चर्चामा आएको छ।

गैरआवासीय नेपाली शिवप्रसाद पौड्यालले क्लासिक टेक प्रालिविरुद्ध दायर गर्नुभएको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो। लामो समयसम्म इन्टरनेट सेवा अवरुद्ध हुनु, समस्या समाधानमा सेवा प्रदायकले ढिलाइ गर्नु तथा त्यसबाट आफूलाई आर्थिक, व्यक्तिगत र पारिवारिक समस्या परेको दाबी गर्दै पौड्यालले अदालतमा मुद्दा दायर गर्नुभएको थियो।
# वर्षभरि इन्टरनेट सेवामा समस्या :
भक्तपुरको सूर्यविनायक नगरपालिका–३, नयाँबस्ती ठिमी निवासी ६२ वर्षीय पौड्यालले २०८३ जेठ १९ गते क्लासिक टेकविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गर्नुभएको थियो। उहाँका अनुसार २०८२ वैशाख १ गते एक वर्षका लागि इन्टरनेट सेवा खरिद गरी ६ हजार ३९८ रुपैयाँ भुक्तानी गर्नुभएको थियो।

तर, २०८२ फागुन २८ गते इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि पटकपटक कम्पनीमा सम्पर्क गर्दा पाँचौँ दिनमा मात्र तारमा समस्या भएको र तार फेर्नुपर्ने जानकारी दिइएको उहाँको दाबी छ। त्यसपछि ९०४ रुपैयाँ अतिरिक्त भुक्तानी गरी तार फेरिए पनि उक्त अवधिमा आफू र परिवार इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभएको छ।
एक वर्षको सेवा अवधि सकिएपछि २०८३ वैशाख १ गते पुनः ५ हजार ९७८ रुपैयाँ ८३ पैसा तिरेर सेवा नवीकरण गरिएको थियो। १०० एमबीपीएस इन्टरनेटलाई १२५ एमबीपीएस बनाइदिने र राउटर निःशुल्क उपलब्ध गराउने भनिए पनि पछि राउटरका लागि १ हजार ६३० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने जानकारी दिइएको पौड्यालको दाबी छ।

# बीस दिनभन्दा बढी इन्टरनेट अवरुद्ध :
२०८३ वैशाख ९ गते पुनः इन्टरनेट सेवा अवरुद्ध भएपछि पौड्यालले कम्पनीमा पटकपटक सम्पर्क गर्नुभएको थियो। तर, कम्पनीका कर्मचारीले फाइबर लिकेज, पोल सारिएको, अर्को कम्पनीले तार काटेको तथा तार धेरै माथि रहेको जस्ता फरक–फरक कारण बताउँदै समस्या समाधानमा ढिलाइ गरेको उहाँको भनाइ छ।
बीस दिनभन्दा बढी समयसम्म समस्या समाधान नभएपछि पौड्यालले हेलो सरकारको ११११, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी गर्नुभएको थियो। साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई समेत समस्याबारे जानकारी गराइएको बताइएको छ।

# इन्टरनेट अवरोधले दैनिक जीवन प्रभावित :
लामो समयसम्म इन्टरनेट सेवा अवरुद्ध हुँदा मोबाइल डाटा खरिद गरेर दैनिक काम सञ्चालन गर्नुपरेको पौड्यालले बताउनुभएको छ। अमेरिकामा रहेका गर्भवती बुहारी तथा नवजात शिशु भएको परिवारसँग नियमित सम्पर्क राख्न कठिन भएको, व्यक्तिगत तथा व्यावसायिक काम प्रभावित भएको र समय, श्रम, आर्थिक तथा मानसिक नोक्सानी व्यहोर्नुपरेको उहाँको दाबी छ।
सेवा प्रदायकले ग्राहकबाट नियमित रूपमा शुल्क लिएपछि सम्झौताअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउनु आवश्यक रहेको पौड्यालको भनाइ छ। सेवा अवरुद्ध हुँदा उपभोक्ताको समय र खर्च बढ्नुका साथै पारिवारिक सम्पर्क, सूचना प्राप्ति तथा दैनिक काममा समेत असर पर्ने भएकाले त्यसको जिम्मेवारी सेवा प्रदायकले लिनुपर्ने उहाँले माग गर्नुभएको थियो।
# उपभोक्ता अधिकारका लागि महत्वपूर्ण फैसला :
पौड्यालका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले बीसौँ दिनसम्म पनि क्लासिक टेकले समस्या समाधान नगरेपछि बाध्य भएर मुद्दा दायर गर्नुपरेको बताउनुभएको छ। उहाँका अनुसार उपभोक्ताले क्षतिपूर्तिको प्रस्ताव राख्दा कम्पनीले अस्वीकार गरेपछि कानुनी प्रक्रियामा जानुपरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई वस्तु वा सेवाबाट भएको हानि–नोक्सानीका सम्बन्धमा क्षतिपूर्तिको दाबी गर्ने कानुनी आधार प्रदान गरेको छ। यस फैसलाले इन्टरनेटजस्ता दैनिक जीवन, शिक्षा, व्यवसाय र सञ्चारसँग प्रत्यक्ष जोडिएका सेवामा उपभोक्ताको अधिकार तथा सेवा प्रदायकको जवाफदेहिताको विषयलाई थप चर्चामा ल्याएको छ।

साढे २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको निर्णयले सेवा प्रदायक कम्पनीहरूले ग्राहकका गुनासा समयमै सम्बोधन गर्नुपर्ने, प्राविधिक समस्या शीघ्र समाधान गर्नुपर्ने तथा सेवा गुणस्तरप्रति जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ।