पर्सा पोस्ट , भदौ ३१ गते , वीरगञ्ज ।
नेपाल अर्बुद रोग निवारण संस्था पर्साको आयोजनामा संस्थाको ४४औँ स्थापना दिवसको अवसरमा क्यान्सर रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम वीरगञ्जस्थित कञ्चनजंघा इङ्लिस स्कुलमा सम्पन्न भएको छ।

क्यान्सर रोगको जोखिम न्यूनीकरण, रोकथाम तथा समयमै पहिचानका विषयमा विद्यार्थी र सहभागीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाल अर्बुद रोग निवारण संस्था पर्साकी सभापति उषा शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था पर्साका सभापति एवं केन्द्रीय सदस्य प्रमोद कुमार पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कञ्चनजंघा इङ्लिस स्कुलका प्रधानाध्यापक तथा नेपाल क्षयरोग निवारण संस्था पर्साका सदस्य बसन्त बुढाथोकीको विशेष उपस्थिति रहेको कार्यक्रममा संस्थाका सदस्य तथा कोषाध्यक्ष उमेश कुमार गुप्ताले संयोजन तथा सहजीकरण गरेका थिए।
कार्यक्रममा विद्यार्थी तथा सहभागीहरूलाई क्यान्सर रोगका सम्भावित कारण, जोखिमका कारक, रोकथामका उपाय, प्रारम्भिक लक्षण तथा समयमै स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिइएको थियो। साथै, स्वस्थ जीवनशैली अपनाउने, धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने, सन्तुलित आहार लिने र नियमित स्वास्थ्य परीक्षण गर्ने विषयमा समेत सचेत गराइएको थियो।

क्यान्सर रोगको उपचारमा लाग्ने आर्थिक तथा सामाजिक चुनौतीलाई न्यूनीकरण गर्न रोकथाम र प्रारम्भिक पहिचान महत्वपूर्ण हुनेमा कार्यक्रममा जोड दिइएको थियो। रोगको प्रारम्भिक अवस्थामा पहिचान भएमा उपचारका विकल्प तथा सफलताको सम्भावना बढ्न सक्ने भएकाले स्वास्थ्यसम्बन्धी सचेतना विस्तार आवश्यक रहेको बताइएको थियो।
विद्यालय तहका विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी ज्ञान र सकारात्मक व्यवहार विकास गराउन यस्ता जनचेतनामूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ। विद्यार्थीमार्फत परिवार तथा समुदायसम्म स्वास्थ्य सम्बन्धी सन्देश पुर्याउन सकिने भएकाले विद्यालयमा आधारित जनचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो।

नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको यस कार्यक्रमले क्यान्सर रोगसम्बन्धी भ्रम तथा गलत धारणालाई कम गर्दै रोगको रोकथाम, प्रारम्भिक पहिचान र स्वस्थ जीवनशैलीप्रति समुदायमा जागरुकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।