उपभोक्ता हित संरक्षणमा योगदान पुर्‍याउने देशभरका ११ अधिकारकर्मी सम्मानित

Date:

र्सा पोस्ट , असोज ०४ गते , पोखरा ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता अधिकारको संरक्षण, प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएका देशभरका ११ जना उपभोक्ता अधिकारकर्मीलाई सम्मान गरेको छ । मञ्चको ३१औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा शनिबार पोखरामा उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य (पर्सा) एवं पत्रकार अजित कुमार भुजेल, केन्द्रीय सदस्य (सिरहा) एवं पत्रकार जिवछ चौधरी,  जुना श्रेष्ठ ( मकवानपुर ) , सुदूरपश्चिम प्रदेश समिति सचिव तथा पत्रकार एकिन्द्र तिमिल्सेना, कर्णाली प्रदेश अध्यक्ष बिन्दुलाल रेग्मी, रुपन्देही जिल्ला समिति अध्यक्ष समुन्द्र जीसी, सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्ष शालिग्राम अधिकारी र मोरङ जिल्ला समिति अध्यक्ष तारानाथ भट्टराई रहेका छन् ।

यस्तै, मञ्चले लामो समयसम्म उपभोक्ता अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै पूर्व केन्द्रीय सदस्य तथा पत्रकार किशोरजंग थापा (गोरखा), पूर्व केन्द्रीय सदस्य राम शर्मा (बागलुङ) र पूर्व केन्द्रीय सदस्य रामजी प्रसाद ज्ञवाली (परासी) लाई समेत सम्मान गरेको हो ।

सम्मानित अधिकारकर्मीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ र विशिष्ट अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

मञ्चका केन्द्रीय उपाध्यक्ष तथा सम्मान छनोट समितिका सदस्य धनपति ढुङ्गेलका अनुसार उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा सम्बन्धित व्यक्तिहरूले पुर्‍याएको योगदान, सक्रियता र भूमिकालाई आधार बनाएर सम्मानका लागि नाम छनोट गरिएको हो ।

सम्मान छनोटका लागि मञ्चका उपाध्यक्ष अजय अधिकारीको संयोजकत्वमा उपाध्यक्षद्वय सुवर्णप्रभा गुरागाईं र धनपति ढुङ्गेल सदस्य रहेको समिति गठन गरिएको थियो । उक्त समितिले देशका विभिन्न जिल्लामा उपभोक्ता अधिकार संरक्षणका क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानको मूल्याङ्कन गरी सम्मानित व्यक्तिहरूको छनोट गरेको जनाएको छ ।

मञ्चले उपभोक्ताको हकहित संरक्षण, बजार अनुगमन, गुणस्तरीय तथा सुरक्षित वस्तु तथा सेवाको सुनिश्चितता, उपभोक्ता सचेतना अभिवृद्धि र उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

३१औँ वार्षिक साधारण सभाका अवसरमा गरिएको सम्मानलाई उपभोक्ता अधिकारको क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानको संस्थागत कदरका रूपमा लिइएको छ । सम्मानले देशभर उपभोक्ता अधिकारको अभियानलाई थप प्रभावकारी बनाउन सक्रिय अधिकारकर्मीहरूलाई प्रोत्साहन पुग्ने मञ्चले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

उपभोक्ता अधिकार कार्यान्वयनका लागि १७ बुँदे पोखरा घोषणापत्र जारी

पर्सा पोस्ट, असोज ०३ गते, पोखरा । ‘उपभोक्ता हित संरक्षणमा...