पर्सा पोस्ट, फागुन ०७ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका–८ अन्तर्गत गहवा क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
घरदैलो कार्यक्रम वडा नम्बर–८ का बुथ सभापति राजेन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय टोलबासी, युवायुवती, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार रुङटालाई विभिन्न टोलमा स्वागत गर्दै स्थानीयले आफ्ना समस्या र अपेक्षाबारे प्रत्यक्ष रूपमा अवगत गराएका थिए।
घरदैलोका क्रममा उम्मेदवार रुङटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्दै समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। उनले आफू काम गर्ने उद्देश्यका साथ राजनीतिमा आएको बताउँदै युवामुखी योजना र नयाँ भिजनसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “युवाशक्तिलाई उद्यमशीलता, स्वरोजगार र सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्ने मेरो लक्ष्य हो। शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्नेछु। हरेक निर्णयमा जनतासँग हातेमालो गर्दै अघि बढ्नेछु, जनता नै मेरो प्रेरणाको स्रोत हुन्।”
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, दिलिपराज कार्की, रामनिवास यादव लगायत ने.वि.संघ तथा नेपाल तरुण दलका नेता-कार्यकर्ता र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
घरदैलो कार्यक्रममार्फत उम्मेदवार रुङटाले स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने अवसर पाएको उल्लेख गर्दै आगामी दिनमा जनमुखी, जवाफदेही र पारदर्शी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सडक, ढल, रोजगारी तथा आधारभूत सेवा सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
चुनाव नजिकिँदै जाँदा पर्सा–१ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बन्दै गएको छ भने मतदातासँग प्रत्यक्ष संवादमार्फत चुनावी गतिविधि थप सक्रिय हुँदै गएको देखिएको छ।