पर्सा पोस्ट, फागुन ०७ गते, वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा टोलमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले सशक्त घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
जनमत पार्टीका तर्फबाट उम्मेदवार सरार्फले चुनावी प्रचारलाई जनकेन्द्रित बनाउने उद्देश्यसहित स्थानीय बासिन्दासँग भेटघाट गरी क्षेत्रका समस्याबारे जानकारी लिएका हुन्।
घरदैलोका क्रममा सरार्फ नगवा टोलका गल्ली–गल्लीमा पुगेर स्थानीयसँग खुला छलफलमा सहभागी भए। वर्षायाममा हुने डुबान, अव्यवस्थित नाला तथा ढल निकास, भित्री सडकको दुरवस्था, सडक बत्तीको अभाव, खानेपानीको अनियमितता, फोहोर व्यवस्थापन, स्वास्थ्य तथा शिक्षासम्बन्धी चुनौती, बेरोजगारी र सीमावर्ती क्षेत्रसँग जोडिएका समस्याहरू स्थानीयले प्रमुख रूपमा उठाएका थिए।
स्थानीयवासीले वर्षा लागेसँगै घर–आँगन डुबानमा पर्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न व्यवस्थित ढल तथा नाला निर्माण आवश्यक रहेको बताएका थिए। सो क्रममा सरार्फले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै दीर्घकालीन पूर्वाधार योजना ल्याएर डुबान नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
“विकास नागरिकको दैनिकी सहज बनाउने खालको हुनुपर्छ, कागजमा सीमित हुने होइन,” उनले भने।
उनले भित्री सडक स्तरोन्नति, सडक बत्ती विस्तार तथा सुरक्षित यातायात व्यवस्थापनमा विशेष ध्यान दिने बताए। सीमावर्ती व्यापारिक सहर वीरगञ्जमा बढ्दो ट्राफिक जाम र बजार व्यवस्थापन सुधार गर्न विशेष योजना ल्याइने पनि उनले उल्लेख गरे।
युवालाई लक्षित गर्दै सीपमूलक तालिम, साना तथा मझौला उद्यम प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माण गरी स्वरोजगारका अवसर सिर्जना गर्ने योजना आफूले अघि सारेको उनको भनाइ थियो। खानेपानी र सरसफाइलाई आधारभूत अधिकारको विषय मान्दै नियमित पानी आपूर्ति र दिगो फोहोर व्यवस्थापनका लागि नगरस्तरीय योजना आवश्यक रहेको उनले बताए।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा सेवा विस्तारको मागप्रति पनि सरार्फ सकारात्मक देखिए। उनले आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, आवश्यक जनशक्ति व्यवस्थापन तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। “सुदृढ शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा नै समृद्ध समाजको आधार हो,” उनले बताए।
घरदैलो अभियानका क्रममा स्थानीयले सरार्फको प्रत्यक्ष संवाद शैली र सहज व्यवहारको प्रशंसा गरेका थिए। उनले विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै पर्सा–१ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेका छन्।
स्थानीयका अनुसार अभियानपछि नगवा टोलमा चुनावी गतिविधि थप सक्रिय बनेको छ। प्रत्यक्ष संवादमार्फत समस्या पहिचान र समाधानको खाका प्रस्तुत गरिएको भन्दै मतदातामा उत्साह देखिएको छ। चुनाव नजिकिँदै जाँदा सरार्फको घरदैलो अभियानले क्षेत्रमा नयाँ आशा र भरोसा सिर्जना गरेको स्थानीयको भनाइ छ।