पर्सा पोस्ट, माघ २६ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुरलीस्थित सगरमाथा सेकेन्डरी स्कुलका विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सव (फुड फेस्टिवल) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। महोत्सवमा विद्यार्थीहरूले विभिन्न २० प्रकारका परिकार प्रदर्शन गर्दै आफ्नो सिर्जनशीलता तथा सीप प्रस्तुत गरेका थिए।
कार्यक्रमप्रति अभिभावकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विद्यालयले पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सक्रिय रूपमा संलग्न गराउँदै आएको भन्दै अभिभावकहरूले विद्यालय परिवारप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन्।
फुड फेस्टिवल सगरमाथा सेकेन्डरी स्कुलका प्रिन्सिपल जीयालाल साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेशनल लघुवित्त संस्था लिमिटेडका म्यानेजर दयानन्द साहले रिबन काटेर उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानेजर साहले शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलाप पनि बालबालिकाको सर्वांगीण विकासका लागि अत्यन्त आवश्यक रहेको बताए। उनले पठन–पाठनसँगै व्यवहारिक ज्ञान, सीप र आत्मविश्वास विकास गराउने यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा आफ्नो लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी विद्यालयका प्रिन्सिपल जीयालाल साहले शैक्षिक गुणस्तर वृद्धिसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागिता गराउनु आजको आवश्यकता भएको बताए। केवल पाठ्यपुस्तकको ज्ञानले मात्र विद्यार्थीको पूर्ण विकास सम्भव नहुने उल्लेख गर्दै उनले शिक्षकहरूले विद्यार्थीहरूको रुचि, इच्छा र क्षमता बुझेर सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमले विद्यार्थीहरूमा आत्मनिर्भरता, टोली भावना तथा व्यवहारिक सीप विकास गर्न मद्दत पुगेको सहभागीहरूको भनाइ छ। सगरमाथा सेकेन्डरी स्कुलले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।