पर्सा पोस्ट, माघ २६ गते, वीरगन्ज।
जिवनज्योती स्कुल वीरगन्जद्वारा आयोजित ज्ञानुदेवी मेमोरियल कप जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८२ को समापन कार्यक्रम सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ। आदर्शनगर खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा एसआर ग्यालेक्सी स्कुलले डीपीएस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
समापनअघि कार्यक्रमका अध्यक्ष शिव गुप्ता, अतिथिहरू तथा परिवारजनले स्वर्गीय ज्ञानुदेवीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। प्रतियोगिताको औपचारिक समापन वीरगन्ज महानगरपालिका शैक्षिक शाखा प्रमुख आनन्द लामिछानेले गर्नुभएको थियो।
१६ वटा विद्यालय सहभागी भएको प्रतियोगिताको उद्घाटन गत माघ २१ गते नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो। माघ २६ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा एसआर ग्यालेक्सी स्कुल विजेता बनेको हो। यसैबीच सोमबार बिहान भएको मैत्रीपूर्ण खेलमा वीरगन्ज युवा समाज–११ ले ज्ञानुदेवी मेमोरियल–११ लाई टाइब्रेकरमा ३–० ले पराजित गरेको आयोजक जिवनज्योती स्कुलका सञ्चालक मीनाक्षी गुप्ताले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि लामिछानेले वीरगन्ज खेल र खेलाडी उत्पादनका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै विद्यालयस्तरमै यस्तो प्रतियोगिता आयोजना गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताउनुभयो।
सोही अवसरमा आयोजक जिवनज्योती स्कुलका प्रिन्सिपल तथा स्वर्गीय ज्ञानुदेवीका सुपुत्र शिव गुप्ताले आफ्नी आमा खेलकुद, विशेष गरी फुटबलप्रति अत्यन्त रुचि राख्नुहुने स्मरण गर्नुभयो। खेलकुदमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने र देशको नाम विश्वभर चिनाउन सकिने विश्वासका साथ आमाको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताउँदै उहाँले साना विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्दै असल नागरिक बनाउने उद्देश्य रहेको जानकारी दिनुभयो।
उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी तथा सहयोगी सबैप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभयो।