पर्सा पोस्ट, माघ २४ गते, वीरगञ्ज ।
१० औं प्याब्सन–नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माध्यमिक विद्यालयले जितेको छ।
प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सुरु भएको तथा ४० विद्यालय सहभागी प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सनलाईट माविलाई ३ विकेटले पराजित गर्दै मुनलाईट च्याम्पियन बनेको हो। गत संस्करणको समेत विजेता रहेको मुनलाईटले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सनलाईटलाई उपविजेतामा सीमित बनायो।
टस जितेर पहिले ब्याटिङ गरेको सनलाईट माविले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। ६७ रनको लक्ष्य पछ्याएको मुनलाईटले १२.५ ओभरमा ७ विकेट गुमाएर ७० रन बनाउँदै जित पक्का गर्यो। महत्वपूर्ण २९ रन बनाएका दिलराज यादव खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
यसअघि शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियर्स माविले गोल्डेन फ्युचर स्कुललाई ९ विकेटले हराउँदै तेस्रो स्थान हासिल गर्यो। गोल्डेन फ्युचरले दिएको ४१ रनको लक्ष्य सेन्ट जेभियर्सले ६ ओभरमै १ विकेट गुमाएर पूरा गरेको थियो। उक्त खेलमा महमद आसिफ अली ‘म्यान अफ द म्याच’ घोषित भए।
क्वार्टरफाइनलबाट बाहिरिएका टोलीहरूबीच भएको प्लेट च्याम्पियनतर्फ गौतम मावि विजयी बन्यो भने फेयर प्ले टिमको उपाधि एमइएस माविले प्राप्त गरेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।
प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
व्यक्तिगत विधातर्फ प्लेयर अफ द सिरिज मुनलाईटका दिलरञ्जन यादव, उत्कृष्ट बलर गोल्डेन फ्युचरका निरञ्जन यादव, उत्कृष्ट ब्याट्सम्यान मनकामना माविका अब्बुबक्कर समानी, उत्कृष्ट किपर मुनलाईटका अनुप कुँवर, उत्कृष्ट फिल्डर सनलाईटका रत्नेश यादव तथा उत्कृष्ट नव–उदीयमान खेलाडी साउथ जोनका प्रिन्स यादव घोषित भए। उनीहरूले ट्रफी, प्रमाणपत्र, क्याप तथा नगद ३ हजार रुपैयाँ प्राप्त गरे।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी, मुख्य प्रायोजक नेपाल मेडिसिटीका कार्यकारी निर्देशक विजय रिमाल, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन मधेशका सल्लाहकार लालबाबु पटेल र श्याम केसी, मानवसेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवसेवा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।