पर्सा पोस्ट, पौष २९ गते, बिरगंज ।
बिरगंजस्थित प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्साको आयोजनामा जातीय एकता र सामाजिक समरसताको सशक्त सन्देश दिने विशेष सम्मान तथा सामूहिक भोजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य हिन्दू समाजभित्र विद्यमान जातीय भेदभाव अन्त्य गर्दै सबै सनातनीहरूबीच आपसी भाइचारा र एकता कायम गर्नु रहेको आयोजकले जनाएको छ। यही उद्देश्यलाई व्यवहारमा उतार्दै “जातपातलाई गरौँ बिदाइ, हिन्दू सनातनी भाइ–भाइ बनौँ” भन्ने नारासहित विभिन्न जात, समुदाय र वर्गका व्यक्तिहरूलाई एकै ठाउँमा सहभागी गराई दही, चिउरा र जलेबीको सामूहिक भोजन गराइएको थियो। सामूहिक भोजनले सामाजिक समानता र आपसी सद्भावको स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
उक्त अवसरमा नवगठित हिन्दू पत्रकार संघ, नेपालका पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रम हिन्दू सम्राट नेपाल, पर्साका अध्यक्ष विकास साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रचार–प्रसारमा सक्रिय योगदान पुर्याउँदै आएका बजरंग दल पर्साका अध्यक्ष विवेक सिन्हा, रण्जन सिंह, वन्दना शर्मा, रमिता माया गुप्तालगायत विभिन्न धार्मिक तथा सामाजिक अभियन्ताहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन सन्तोष सर्राफ र हिन्दू सम्राट नेपाल, पर्साका महासचिव प्रज्वल डगोलले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता कार्यक्रमहरूले समाजमा आपसी सद्भाव, समानता र धार्मिक एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममार्फत वीरगंजसहित सम्पूर्ण मधेश क्षेत्रमा सामाजिक एकता र सनातनी चेतनाको सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ।