पर्सा पोस्ट , पुष १४ गते , वीरगंज ।
वीरगंज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यसअघि गएको असोजमा सम्पन्न विशेष नगर अधिवेशनमार्फत कटौती गरिएको वडातर्फको २५ प्रतिशत बजेट पुनः यथावत् राख्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
गएको भदौ २३ र २४ गते जेन्जी आन्दोलनका कारण महानगरपालिकाका विभिन्न संरचनामा भएको क्षतिपछि असोजमा विशेष नगर अधिवेशन बसेको थियो । उक्त विशेष अधिवेशनले पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापनका लागि वडाको बजेट कटौती गरेको थियो ।
पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाइसकेपछि चालु आर्थिक वर्षको १७औँ नगर अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत् राख्ने निर्णय हाल सम्पन्न १९औँ नगर अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
अधिवेशनमा प्रमुख सिंहले चालु आर्थिक वर्षको हालसम्मको आय–व्ययको अवस्था समेत सार्वजनिक गर्नुभयो । उहाँका अनुसार बिनियोजन गरिएको कुल ३ अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । खर्चको समग्र प्रतिशत ३३ प्रतिशत रहेको छ, जसमा चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको छ ।
महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य समेत लिएको प्रमुख सिंहले बताउनुभयो ।
नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।