पर्सा पोस्ट, मंसिर १७ गते, बिरगंज ।
भीएस पावरप्ले टी–२० च्यालेन्ज अन्तर्गत बिरगंज स्कुल्स कप २०८२ को उपाधि ग्रीनल्याण्ड सेकेन्डरी स्कुलले हात पारेको छ। आज सम्पन्न रोमाञ्चक फाइनलमा ग्रीनल्याण्डले बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुललाई १ विकेटले पराजित गर्दै प्रतियोगिताको ख़िताब जित्न सफल भयो।
टस जितेर पहिले ब्याटिङ गरेको बाल एकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो। लक्ष्यको पछि लागेको ग्रीनल्याण्ड शुरुवातीमै दवावमा परे पनि उत्कृष्ट संयम र दृढतापूर्ण प्रदर्शन गर्दै १६.४ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन जोड्दै खेल आफ्नो पक्षमा पारेको हो।
फाइनलमा ग्रीनल्याण्डका सोहेब शेखले ब्याट तथा बल दुवैतर्फबाट उल्लेखनीय प्रदर्शन गरे। उनले २३ रनसहित १ विकेट लिँदै टिमलाई जित दिलाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए। यही प्रदर्शनका आधारमा उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका उप–सचिव एवं इकाइ प्रमुख मोती प्रसाद भट्टराई रहेका थिए। साथै पाब्सन केन्द्रीय समितिका सदस्य छेडुप लामा, कुसानका उपाध्यक्ष बसु कर्ण, पत्रकार अभिलाष गुप्ता, शिक्षा विकास तथा समन्वय इकाइका उप–प्रमुख गोपाल जी साहलगायतको उपस्थितिमा विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।
अन्य उत्कृष्टता पुरस्कार विजेताहरू :
# श्रेष्ठ ब्याटर: रोहित शाह – बाल एकता सेकेन्डरी स्कुल (८९ रन)
# श्रेष्ठ बलर: सोहेब शेख – ग्रीनल्याण्ड सेकेन्डरी स्कुल (१०.२ ओभरमा १० विकेट)
# टुर्नामेन्ट अफ द सिरिज: सोहेब शेख – ग्रीनल्याण्ड (१० विकेट, ७३ रन)
# श्रेष्ठ विकेटकिपर: समीर हवारी – ग्रीनल्याण्ड
# श्रेष्ठ फिल्डर: आदित्य यादव – बाल एकता
# उदीयमान खेलाडी: राहुल यादव – ३ खेलमा ८ विकेट (उमेर ११ वर्ष)
# श्रेष्ठ अल–राउन्डर: मिस्बाबुल अन्सारी – साउथ जोन (५० रन, ६ विकेट)
यसैगरी फेयर–प्ले टिम अफ द टुर्नामेन्ट को उपाधि साउथ जोन सेकेन्डरी स्कुलले प्राप्त गरेको छ।