पर्सा पोस्ट, मंसिर १७ गते, बिरगंज ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा बिरगंज महानगरपालिका स्थित एम.इ.एस. सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी बाल–विवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईले गरेका थिए। स्कुलका निर्देशक सामुदिन अहमदको विशेष उपस्थितिमा तथा प्रमुख अतिथीका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई सहभागी भएका थिए।
प्रहरी निरीक्षक भट्टराईले बाल–विवाहलाई अपराध तथा सामाजिक विकृति दुवैको रूपमा व्याख्या गर्दै विद्यार्थीहरूलाई जागरूक रहन आग्रह गरे। उनले भने, “बाल–विवाह केवल कानुनी मुद्दा होइन, जीवनभर असर पार्ने गम्भीर सामाजिक समस्या हो। शिक्षा, चेतना र परिवारको सही मार्गदर्शनले मात्र यसलाई अन्त्य गर्न सकिन्छ।” उनका अनुसार कम उमेरमै हुने विवाहले स्वास्थ्य, पढाइ, मानसिक अवस्था तथा भविष्यका अवसरहरूमा गम्भीर नोक्सानी पुर्याउँछ। “आफू सचेत बनौं, अरूलाई पनि सचेत गराऔं,” भन्दै उनले सन्देश दिए।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका पदाधिकारीहरू, स्कुलका शिक्षक–शिक्षिका, प्रहरी कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सेवा केन्द्रका प्रतिनिधि तथा शिक्षकहरूले बाल–विवाहका जोखिम, कानुनी प्रावधान, रोकथामका उपाय तथा अभिभावक–विद्यार्थीको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरे।
विद्यार्थीहरूले समेत बाल–विवाहविरुद्धका प्रश्न, जिज्ञासा र सुझाव राख्दै सक्रिय सहभागिता जनाएका थिए। आयोजकहरूका अनुसार किशोर–किशोरीमा बाल–विवाहका जोखिमबारे स्पष्ट जानकारी दिन, कानुनी समझ बढाउन तथा विद्यालय–समुदायस्तरमा प्रहरी–जनता साझेदारी मजबुत बनाउन कार्यक्रम प्रभावकारी बनेको छ।