पर्सा पोस्ट , असार ०२ गते , बिरगंज ।
बिरगंजको मेनरोड आदरशनगर चौकमा प्रत्येक शनिबार मानव सेवाको पवित्र भावनासहित सञ्चालन हुँदै आएको “सद्भाव साप्ताहिक भोजन सेवा” आज पनि सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ। ज्येष्ठ मंगलबार (बड मंगलबार) को अवसर पारेर बिरगंज–६ स्थित महावीर मन्दिर परिसरमा विशेष रूपमा भोजन तथा चिसो शर्बत सेवा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका संयोजक रमेश जाटियाका अनुसार सद्भाव सेवा विगत ३८६ हप्तादेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ, जुन आफैंमा एउटा अनुकरणीय सामाजिक अभियान हो। उहाँले विभिन्न चाडपर्व तथा विशेष अवसरहरूमा यस्ता सेवा कार्यक्रम अझ व्यापक रूपमा आयोजना गरिँदै आएको जानकारी दिनुभयो।
आजको कार्यक्रममा करिब ४०० जनालाई स्वादिष्ट भोजन गराइएको थियो भने झण्डै १ हजार जनालाई चिसो शर्बत पानी वितरण गरिएको थियो। भोजनमा भात, दाल, पनिर, परवर, आलु, लौका, सोयाबिन मिसाइएको मिक्स तरकारी तथा सलाद परोसिएको थियो। भोजन तथा चिसो शर्बत पानीको व्यवस्थाले उपस्थित श्रद्धालु र सर्वसाधारण निकै खुसी देखिन्थे।

कार्यक्रममा सहयोगी दाता, स्थानीय समाजसेवी महिला, युवा स्वयंसेवक तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सडकमा आवतजावत गर्ने यात्रु, पर्यटक, मोटरसाइकल चालक, ई–रिक्सा चालक, रिक्सा चालक, साइकल चालक तथा महावीर मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुहरूलाई सम्मानपूर्वक आमन्त्रण गरी भोजन तथा चिसो शर्बत पानी ग्रहण गराएका थिए।

सहभागीहरूले मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे। स्थानीय बासिन्दाहरूले लगातार ३८६ हप्तासम्म भोजन सेवा सञ्चालन गर्नु ठूलो सामाजिक योगदान भएको भन्दै यसले आवश्यकतामा परेका व्यक्तिहरूका लागि आशा र सहाराको काम गरिरहेको बताए।

कार्यक्रमका संयोजक रमेश जाटियाले निस्वार्थ भावनाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर स्वादिष्ट भोजन सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्तो मानवीय कार्य सराहनीय भए पनि स्थानीय सरकारले यस्ता अभियानलाई हेर्नु र सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। “हालसम्म कुनै सरकारी निकायबाट सहयोग प्राप्त भएको छैन, हामी साथीभाइ मिलेर नै अहिलेसम्म यो सेवा निरन्तर चलाइरहेका छौं,” उहाँले भन्नुभयो।