बिकन स्कुलका विद्यार्थीद्वारा भिस्वा डाँडामा सरसफाइ अभियान , वातावरण संरक्षणबारे जनचेतना फैलाइयो

Date:

पर्सा पोस्ट , जेष्ठ ३१ गते , वीरगञ्ज,  । वीरगञ्ज महानगरपालिका–४ भगवतीटोलस्थित बिकन स्कुलका विद्यार्थीहरूले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयअन्तर्गत गठन गरिएको “बिकन सोसल वेलफेयर युनिट” को आयोजनामा वीरगञ्ज–१५ स्थित भिस्वा डाँडा परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको हो।

समाजसेवी तथा विद्यालयका सञ्चालक प्रकाश उपाध्यायको नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अविनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी, विद्यालयका लेखापाल तथा प्रशिक्षक सुभाष सिंह, कार्यक्रम संयोजक शिक्षक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरि लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले भिस्वा डाँडा परिसरमा फैलिएको फोहोर संकलन गरी वातावरण सफा बनाउनुका साथै स्थानीय बासिन्दालाई सरसफाइको महत्वबारे जानकारी दिएका थिए।

सरसफाइ अभियानसँगै वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्ने विषयमा जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंहले फोहोर उत्पादन नै कम गर्न सके सरसफाइको आवश्यकता पनि न्यून हुने बताए। उनले फोहोरको व्यवस्थित व्यवस्थापनबाट वातावरण स्वच्छ र स्वस्थ रहने उल्लेख गर्दै घर, टोल, गाउँ तथा शहरलाई सफा राख्न सबै नागरिक जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे। स्वच्छ वातावरणले व्यक्ति, परिवार, समाज र राष्ट्रको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले सरसफाइलाई जीवनशैलीको हिस्सा बनाउनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी विद्यालयका सञ्चालक प्रकाश उपाध्यायले सरसफाइ मानव जीवनको अत्यन्त महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसले मानिसलाई निरोगी र स्वस्थ राख्न मद्दत गर्ने बताए। उनले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व तथा वातावरणप्रतिको चेतना विकास गर्ने उद्देश्यले विद्यालयमा “सोसल वेलफेयर युनिट” गठन गरिएको जानकारी दिए। उक्त युनिटमार्फत सरसफाइ, वृक्षारोपण तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूलाई समाज, देश र वातावरणप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गरिएको उनले बताए।

कार्यक्रममा समाजसेवी श्रवणबहादुर रायमाझीले सरसफाइ केवल व्यक्तिगत स्वच्छतामा सीमित नभई टोल, समाज, सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल, पोखरी तथा नदीहरूको सरसफाइमा समेत ध्यान दिनुपर्ने बताए।

वातावरणलाई स्वच्छ, शुद्ध र स्वस्थ राख्न विद्यालय तहबाटै विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक अभ्यासमा सहभागी गराउन आवश्यक रहेको उनको भनाइ थियो। उनले बिकन स्कुलका विद्यार्थीहरूले वातावरण संरक्षणप्रति देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै सबैलाई आफ्नो घर तथा वरपरको क्षेत्र सफा राख्न आग्रह गरे।

विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम वातावरण संरक्षण, सरसफाइ संस्कृतिको विकास तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनका दृष्टिले प्रभावकारी बनेको आयोजकले जनाएको छ। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता जनहितकारी तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...