पर्सा पोस्ट , मंसिर १२ गते , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८४ लक्षित गर्दै उम्मेदवार छनोट अभियान घोषणा गरेको छ। सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादनमुखी समाज निर्माण गर्ने लक्ष्यसहित पार्टीले योग्य तथा प्रतिबद्ध व्यक्तिहरूबाट उम्मेदवारी आवेदन माग गरेको छ।
जारी विज्ञप्तिअनुसार पार्टीले मूल्य, नैतिकता र ईमानदारीलाई केन्द्रमा राखेर नेतृत्व चयन प्रक्रिया अघि बढाउने जनाएको छ। यो अभियानले नयाँ सोच, स्वच्छ छवि र क्षमता भएका पात्रलाई अग्रभागमा ल्याउने अपेक्षा गरिएको छ।
🔹 आवेदनका लागि आवश्यक योग्यता
• नेपाली नागरिक हुनुपर्ने
• २५ वर्ष उमेर पूरा भएको
• आपराधिक पृष्ठभूमि नभएको
• जनताका सवालमा स्पष्ट धारणा राख्न सक्ने
• नैतिकता, अनुशासन र सार्वजनिक व्यवहारमा आदर्श
• परिवर्तनका विषयमा सकारात्मक सोच र दृढ इच्छा
• पार्टी नीतिप्रति आस्था, प्रतिबद्धता र सक्रिय भूमिका निर्वाह गर्न सक्ने
🔹 छनोटका आधार
• उम्मेदवार क्षमता
• नेतृत्व क्षमता
• राजनीतिक/पेशागत योग्यता
• जनसम्पर्क र लोकप्रियता
• जिम्मेवारी निर्वाह गर्ने सामर्थ्य
विज्ञप्तिमा जनाइएको छ कि योग्य उम्मेदवारले जनविश्वास जित्ने, पारदर्शी नेतृत्व गर्ने तथा जिल्लाको विकास एजेण्डा अघि सार्न सक्ने क्षमता राख्नुपर्नेछ। इच्छुकहरुले मंसिर २५ गतेभित्र पार्टीको आधिकारिक वेबसाइट www.rspnepal.org वा जिल्ला कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्।
यस सम्बन्धी विज्ञप्ति रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तले जारी गरेका हुन ।