पर्सा पोस्ट, मंसिर ०६ गते, बिरगंज ।।बिरगंज युथ्स स्पोर्ट्स एकेडेमीद्वारा आयोजना गरिएको वीरगञ्ज सुपर लिग (बीएसएल) को चौथो संस्करण शनिबार बिरगंजस्थित नारायणी रङ्गशालामा विशेष समारोहका बीच भव्य रूपमा सुरु भएको छ। रंगीन झाँकी, आकर्षक मार्चपास र सांस्कृतिक प्रस्तुतीका साथ सम्पन्न उद्घाटन कार्यक्रममा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए। उनले बीएसएल केवल क्रिकेट प्रतियोगिता मात्र नभई मधेस प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण मञ्चको रूपमा स्थापित भएको बताए।
“बीएसएल मधेसका युवा खेलाडीहरूको सपना र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने सेतु हो। विगतका वर्षहरूमा यहाँबाट प्रतिभाशाली खेलाडी राष्ट्रिय टिमसम्म पुगिसकेको तथ्य यसको प्रभावकारिता प्रमाणित गर्छ,” प्रमुख सिंहले भने। साथै उनले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा स्तरोन्नत गर्न महानगर प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
कार्यक्रम पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा पयाब्सन पर्साका अध्यक्ष सरोज चौधरी, सुल्भ केसीलगायत विभिन्न संघ–संस्था, खेलकुद क्षेत्रका अगुवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उद्घाटन खेलमा ड्रागन अफ साहिब दरबार र अपन कालिकामाई आमनेसामने भए। टस जित्दै ड्रागन अफ साहिब दरबारका कप्तान सन्तोष कार्कीले पहिले फील्डिङ गर्ने निर्णय लिए। खेलअघि दुवै टोलीको मार्चपास तथा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्यले वातावरण झनै उत्साहपूर्ण बनेको थियो। रङ्गशालाको दर्शकदीर्घा खचाखच भरिएको दृश्य विशेष आकर्षक देखिन्थ्यो।
यस वर्ष बीएसएलमा पाँच फ्रेन्चाइजी टिम उपाधिका लागि प्रतिस्पर्धामा छन्—
• साउथ जोन स्टार्स (कप्तान: हासिम अन्सारी)
• ड्रागन अफ साहिब दरबार (कप्तान: सन्तोष कार्की)
• मधेस एलिट्स (कप्तान: हिमान्सु दत्त)
• रोयल वीरगञ्ज ११ (कप्तान: आदर्श भण्डारी)
• अपन कालिकामाई (कप्तान: अर्जुन शर्मा)
स्थानीय प्रतिभा खोजी तथा प्रोत्साहनका दृष्टिले बीएसएल क्षेत्रीय स्तरमै प्रतिष्ठित प्रतियोगिताका रूपमा मानिन्छ। विगतका तीन संस्करणबाट राष्ट्रिय तथा फ्रेन्चाइजी लिगसम्म खेलाडी पुगेपछि यस वर्षको प्रतियोगिता प्रति उत्साह र अपेक्षा झनै बढेको आयोजकले जनाएको छ।