पर्सा पोस्ट , मंसिर ०६ गते , बिरगंज ।
ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगञ्ज शाखा वडा नं.–१६, नगवाद्वारा शनिबार आयोजित निःशुल्क आँखा जाँच शिविर भव्य रुपमा सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगञ्ज–१६, नगवाको प्राङ्गणमा सम्पन्न शिविरमा ११५ जनाले सेवा लिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगञ्जका पूर्व मेयर विजय सरावगी रहेका थिए। कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सङ्घ वडा–१६ नगवाका अध्यक्ष विश्वनाथ प्रसाद चौरसियाले गरेका थिए भने सञ्चालन सचिव सुरेन्द्र कानुले गरेका थिए।
शिविरमा विशिष्ट अतिथि नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतोलगायतका गणमान्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवामा गरिएको यो पहल प्रशंसनीय रहेको धारणा राखे।
माट्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा जाँच गरिएकामध्ये १८ जनामा मोतियाबिन्द फेला परेको आयोजकले जानकारी दिएको छ। प्रभावितमध्ये ९ पुरुष र ९ महिला रहेको तथा उनीहरूको निःशुल्क शल्यक्रिया गराइने पनि आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मेयर सरावगीले आँखा मानव जीवनको अत्यावश्यक अंग भएको उल्लेख गर्दै उपचारको पहुँच नहुँदा कसैले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले गरिएको यस्तो पहल अत्यन्तै सराहनीय रहेको बताए। समुदाय–केन्द्रित स्वास्थ्य सेवा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको उनको भनाइ थियो।
शिविरमा ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी, सदस्य, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि यस प्रकारका स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको छ।