पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगंज। ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले प्रहरी प्रशासन र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विशेष बिदाई तथा “फेरि भेटौंला” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका दौरान वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतलाई सम्मानपूर्वक बिदाई गरिएको थियो।

कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। कार्यक्रममा समाजसेवी, सामाजिक अगुवा, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, आजीवन सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले बिदाइ गरिएका तीनै जना प्रहरी निरीक्षकहरूको कार्यकुशलता, इमानदारी र जनताप्रतिको आत्मीय व्यवहारको उच्च प्रशंसा गरे। विशेषगरी प्रहरी निरीक्षक निरोज चौलागाईंको कार्यकाल स्मरणीय रहेको उल्लेख गर्दै वक्ताहरूले उहाँले सामुदायिक प्रहरी अवधारणालाई व्यवहारमा उतार्न उल्लेखनीय योगदान पुर्याएको बताए।
वक्ताहरूले भने— “उनीहरूले आफ्नो कार्यकालमा समुदायसँग सहकार्य गर्दै जनगुनासो समाधानमा सक्रिय भूमिका निर्वाह गरे, जसले प्रहरी–नागरिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।”
कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईंलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मानपूर्वक बिदाई गरिएको थियो। हालै उहाँको काठमाडौं अपराध महाशाखामा सरुवा भएको अवसरमा उपस्थित सबैले उहाँको भावी कार्य सफल र प्रगतिशील रहोस् भन्ने शुभकामना व्यक्त गरे।
अध्यक्ष जयप्रकाश खेतानले बिदाई मन्तव्यका क्रममा भने,
“निरोज सरले प्रहरी सेवामा रहँदा जनताको समस्या आफ्नै समस्या ठानेर काम गर्नुभयो। उहाँले सामुदायिक प्रहरी सेवा केन्द्रको लक्ष्य र भावना अनुरूप समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ नजिक पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभयो।”
कार्यक्रमको अन्त्यमा प्रहरी निरीक्षक निरोज चौलागाईं, लोकराज भट्ट र श्याम बस्नेतले समुदायबाट प्राप्त स्नेह, सम्मान र साथप्रति हार्दिक आभार प्रकट गरे।
उनीहरूले भने— “समुदायको साथ र विश्वासले हामीलाई प्रेरित गरेको छ। हामी जहाँ भए पनि समाज र देशको हितका लागि समर्पित रहँनेछौं।” साँस्कृतिक प्रस्तुति र सामूहिक फोटोसेसनसँगै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।