अजित कुमार भुजेल, साउन २३ गते , बिरगंज । बिरगंजबाट प्रकाशन हुने भोजपुरी भाषाको एकमात्र दैनिक पत्रिका भोजपुरी टाइम्स दैनिक ले शुक्रबार विविध कार्यक्रमका साथ आफ्नो १२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
वार्षिकोत्सवको अवसरमा पत्रिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिरगंज वडा न.१० स्थित जनजाति कल्याण आश्रम नेपाल “आमाको माया छात्रावास” मा आश्रित गरिब, दलित र असहाय बालबालिकाहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ। वितरण सामग्रीमा चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुट, कापी, पेन्सिललगायत अत्यावश्यक सामग्रीहरू समावेश थिए।
कार्यक्रम भोजपुरी टाइम्स का प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा सहभागी थिए। उनले पत्रिकाको ११ वर्षे यात्रा पत्रकारिताको क्षेत्रमै प्रेरणादायी रहेको उल्लेख गर्दै निरन्तरता, संघर्ष र समर्पणका लागि पत्रिका टिमलाई बधाई तथा शुभकामना दिएका थिए। “आजको प्रतिस्पर्धी मिडिया बजारमा एउटै टिमले ११ वर्षसम्म अखबारलाई निरन्तर प्रकाशन गर्नु आफैँमा एक ठूलो उपलब्धि हो,” बञ्जाराले भने, “पत्रिकाले सामाजिक कार्यमार्फत मानवीय संवेदनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।”
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले भोजपुरी टाइम्स ले भाषिक विविधता संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै अझ प्रभावकारी भूमिकाको अपेक्षा गरे।
महासंघका केन्द्रीय परिषद् सदस्य राघव साहले पत्रिकाको प्रारम्भदेखि अहिलेसम्मको समर्पण र संघर्षको चर्चा गर्दै भावी यात्राका लागि शुभकामना व्यक्त गरे।
यसै अवसरमा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष निरज पीठाकोटे मगरले मातृभाषाको पत्रकारिता प्रविधिसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै पत्रिकाको सफलताप्रति शुभकामना दिए।
कार्यक्रममा कुमुदिनी एकेडेमीका सञ्चालक एवं शिक्षाप्रेमी श्रीरामजी गिरीले भोजपुरी टाइम्स ले मधेस मात्र नभई देशकै गौरव बन्दै गएको धारणा व्यक्त गरे।
कार्यक्रमको सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगञ्जका सदस्य श्याम सर्राफले गरेका थिए भने स्वागत मन्तव्य पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले राखेका थिए।
पत्रिकाले वार्षिकोत्सवको अवसरमा पत्रकारितासँगै सामाजिक सेवामा पनि सशक्त उपस्थिति जनाउँदै मातृभाषा भोजपुरीको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्धता दोहोर्याएको छ।