अजित कुमार भुजेल, श्रावण १३ गते, बिरगंज । बिरगंज महानगर पालिका वडा न.१५ स्थित नवदीप एकेडेमी, भिस्वामा आयोजित हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको शपथग्रहण एवं वार्षिक पुरस्कार वितरण समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले यस्तो खालका गतिविधिले विद्यार्थीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै भने, “नेतृत्व, अनुशासन र आत्मविश्वासको विकासले विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न मार्गदर्शन गर्छ।”
त्यस्तै, प्याब्सन पर्साका अध्यक्ष सरोज कुमार चौधरीले विद्यालयको व्यवस्थापन र शैक्षिक स्तरको प्रशंसा गर्दै नवदीप एकेडेमीलाई प्रेरणादायी मोडेलका रूपमा प्रस्तुत भएको बताए।
समारोहमा डा. हरिशंकर साह, इमामुद्दिन अहमद, प्रकाश उपाध्याय, फजिल अहमद, बिरेन्द्र यादव लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
विद्यालयकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित छात्र नेताहरू आर्यन साह (हेड ब्वाय), प्रियांका साह (हेड गर्ल) सहित हाउस क्याप्टेन्सहरूले सपथ ग्रहण गरे।
कार्यक्रमका क्रममा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र सहित सम्मान गरियो। समारोहको सञ्चालन शिक्षिका नेहा अग्रवालले गरेकी थिइन्। कार्यक्रममा स्थानीय अभिभावक, सामाजिक अगुवा तथा समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।