अजित कुमार भुजेल, श्रावण १३ गते, बिरगंज । मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै मानवसेवा आश्रम बिरगंज शाखाले मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त एक पुरुषलाई उद्धार गरी आश्रममा पुर्याएको छ।
मंगलबार दिउँसो १२:४५ बजे पर्सा जिल्लाको बिरगंज पावर हाउस चोकमा मानसिक अवस्था कमजोर देखिएका करिब ३५ वर्षीय अज्ञात पुरुष आफ्नो नाम, ठेगाना र परिचय बताउन असमर्थ भएपछि स्थानीयको सूचनामा टोलीले उद्धार गरेको हो।
उद्धारपछि उनलाई मानवसेवा आश्रम वीरगंजमा लगेर नुहाइधुवाइ गरी सरसफाइ गरिनेछ र डा. भरत गोईज्यूको निगरानीमा स्वास्थ्य परीक्षण तथा औषधोपचार सुरु गरिने आश्रमले जनाएको छ।
यस उद्धार अभियानमा मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव साथै स्थानीय समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो।
मानवसेवा आश्रमले सडकमा विपन्न, बेवारिसे, मानसिक रोगी, अपाङ्ग तथा असहाय व्यक्तिहरूको उद्धार गरी उपचार, पुनःस्थापना र पुनःस्थापनापछि परिवारसँग पुनर्मिलन गराउने कार्य गर्दै आएको छ।