अजित कुमार भुजेल, बिरगंज । बिरगंज समाज सेवाद्वारा नारायणी अस्पताल, बिरगंजमा लगातार ६२ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको छ।
पछिल्लो एक वर्षभन्दा बढी समयदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेबाट सुरु हुने यस निशुल्क भोजन सेवा कार्यक्रममा अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्ति, साथै रिक्सा–ईरिक्सा चालक तथा यात्रु–बटुवाहरूलाई घरमा बनाएको जस्तो सफा, सुग्घर, शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाउने परम्परा जारी छ।
समाजका सचिव समाजसेवी प्रकाश बाहेतीका अनुसार, “सेवा नै धर्म हो” भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै विगत एक वर्षदेखि हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएका छन्। उनले दिन–दुखी असहायको पेट भरेपछि अनुहारमा देखिने खुशी र हाँसो देख्दा आफुलाई गौरव र सन्तुष्टि महसुस हुने बताए। साथै, यस अभियानमा जो कोहीले पनि सेवा र सहयोगका लागि हातेमालो गर्न सक्ने भन्दै सबैलाई स्वागत गरे।
आजको निशुल्क भोजन कार्यक्रममा शुद्ध शाकाहारी खानाको रूपमा स्वादिलो भात, दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार तयार गरी सेवाग्राहीहरूलाई बोलाई–बोलाई थपी–थपी खुवाइएको थियो।
कार्यक्रममा समाजका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सरार्फ, सदस्यहरू मदन प्रसाद गुप्ता, बैजनाथ साह, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, दामोदर गिरि लगायतले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।