अजित कुमार भुजेल , बिरगंज। भारतको अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य दुर्गा प्रसाद गौतमले बिरगंजका धार्मिक स्थलमा दर्शन गर्नु भएको छ ।
बिरगंज आइपुगेका मुख्य आचार्य गौतमलाई बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विभिन्न धार्मिक स्थलको दर्शन गराउनु भएको छ ।
बिरगंजको घडिअर्वास्थित रामजानकी मन्दिरसँगै, गीता मन्दिरमा दर्शन गर्दै मुख्य आचार्य गौतमले बिरगंज महानगरका प्रमुख सिंहको कार्यको सह्राना गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बिरगंजसमा भइरहेको धार्मिक स्थलको संरक्षण तथा सौन्दर्यकरणको काम अत्यन्तै प्रसंशनीय छ । मेयर सिंहको चर्चा अयोध्यासम्म पनि पुगेको छ । त्याहाँ पुग्ने दर्शनार्थीहरुले पनि यहाँका मेयर साबको खुबै प्रसंशा गर्नुहुन्छ ।’
धार्मिक स्थलको अतिक्रमण मुक्त गर्नु र संरक्षण तथा प्रबद्र्धन गर्नमा बिरगंज महानगरले थालेको कदम अनुसरणीय रहेको बताउँदै उहाँले बिरगंजमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेको बताउनुभयो । साथै उहाँले बिरगंज महानगरसँगै अयोध्याको स्थानीय तथा प्रदेश सरकारबीच आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अयोध्या आउने दर्शनार्थीलाई बिरगंज पुग्ने र यहाँका धार्मिक स्थलको दर्शन गर्ने वातावरण निर्माण गर्नुका साथै यहाँका व्यक्तिलाई अयोध्या पुग्ने माहोल बनाउनुपर्ने गौतमको भनाई छ ।
बिरगंज महानगरपालिकाका प्रमुख सिंहले अझै धेरै काम बाँकी रहेको सुनाउनुभयो । उहाँका अनुसार बिरगंज महानगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम भइरहेको छ । सो अवसरमा बिरगंज महानगरपालिकाका सद्भावना दूत अशोक वैद्य, बिरगंज महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको उपस्थिती रहेको थियो ।