पर्सा पोस्ट, बैशाख २९ गते, वीरगञ्ज ।
<span;>वीरगञ्ज महानगरपालिकालाई हराभरा, सुरक्षित तथा आधुनिक स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यसहित आदर्शनगरस्थित विपी उद्यान पार्क निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। महानगरपालिकाको सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानको सक्रिय पहलमा पार्क निर्माणसँगै सौन्दर्यीकरण, हरियाली प्रवर्द्धन तथा सुरक्षा व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको हो।
हाल पार्क क्षेत्रमा वृक्षारोपण, आकर्षक हरियाली व्यवस्थापन, पदमार्ग निर्माण, विश्रामस्थल तथा बालबालिकाका लागि खेल क्षेत्र निर्माण कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ। पार्कलाई पारिवारिक घुमफिर, मनोरञ्जन र स्वास्थ्यप्रद वातावरणको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य महानगरपालिकाले लिएको जनाएको छ।
यसैबीच पार्क क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गरिएको छ। प्रहरी बिट सञ्चालनमा आएपछि पार्कको सुरक्षा व्यवस्था थप सुदृढ भएको स्थानीयवासीले बताएका छन्। सार्वजनिक स्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, नागरिकको सुरक्षामा सहजता तथा पार्कको संरक्षणमा प्रहरी बिट प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानले वीरगञ्जलाई स्वच्छ, व्यवस्थित, हराभरा र प्रविधिमैत्री स्मार्ट सिटी बनाउने अभियानलाई निरन्तर अगाडि बढाइने बताएका छन्। उनले नगरको विकास केवल सरकारी प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै नागरिक, सामाजिक संस्था, व्यवसायी तथा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
“हरियाली र सरसफाइ केवल सौन्दर्यको विषय होइन, यो स्वस्थ जीवन र सभ्य शहरको पहिचान पनि हो,” खेतानले भने, “हामी सबैले आफ्नो शहरलाई माया गर्दै संरक्षण र विकासमा हातेमालो गर्नुपर्छ।”
स्थानीयवासीहरूले पनि विपी उद्यान पार्क निर्माणले वीरगञ्जको स्वरूप परिवर्तन हुँदै गएको प्रतिक्रिया दिएका छन्। पार्क निर्माण सम्पन्न भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा नागरिकको दैनिक जीवनशैलीमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।