पर्सा पोस्ट , बैशाख २८ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–१२ स्थित गौतम माध्यमिक विद्यालय मा प्रवेश परीक्षा सञ्चालनका क्रममा उत्पन्न विवाद अन्ततः आपसी समझदारी र मेलमिलापमार्फत समाधान गरिएको छ। विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको छलफलपछि दुवै पक्षले भविष्यमा यस्ता घटना दोहोरिन नदिने तथा सुमधुर सम्बन्ध कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ वैशाख १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन भइरहेको अवस्थामा वैशाख २१ गते विद्यार्थीहरूको प्रवेश परीक्षा लिइएको थियो। सोही दिन विद्यालय बाहिर ग्रीनसिटी सामुदायिक संस्था तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त पहलमा नाला सफाइ अभियान सञ्चालन भइरहेकाले विद्यालय परिसर आसपास अभिभावकहरूको अत्यधिक भीडभाड भएको बताइएको छ।
भीडभाडकै क्रममा कक्षा ८ र १० मा अध्ययनरत केही छात्रा प्रवेश–कार्ड साथमा नल्याई विद्यालय पुगेपछि उनीहरूलाई केही समय कक्षाबाहिर बस्नुपरेको अवस्था सिर्जना भएको थियो। उक्त घटनापछि अभिभावक र विद्यालय प्रशासनबीच विवाद उत्पन्न भएको जनाइएको छ।
सहमति–पत्रअनुसार विद्यालय प्रशासनले छात्रा तथा अभिभावकसँग तत्काल समुचित संवाद गरी सहज वातावरणमा कक्षामा प्रवेश गराउनु पर्ने भए पनि परिस्थितिवश त्यसो हुन नसकेको स्वीकार गरेको छ। साथै, घटनाबाट विद्यार्थी र अभिभावकमा परेको मानसिक असरप्रति विद्यालय प्रशासनले दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ।
दुवै पक्षबीच भएको छलफलमा विद्यालयभित्र अनुशासित, सुरक्षित र अभिभावकमैत्री वातावरण कायम राख्ने, परीक्षा तथा अन्य प्रशासनिक प्रक्रियामा स्पष्ट सूचना प्रवाह गर्ने तथा समस्या देखिएमा संवादमार्फत समाधान खोज्ने सहमति भएको छ।
सहमति–पत्रमा विद्यालयको तर्फबाट ललित कर्ण र रमेश कुमार शर्माले हस्ताक्षर गरेका छन् भने अभिभावक पक्षबाट पिन्टु रौनियार र सन्तोष पटेलले हस्ताक्षर गरेका छन्। उक्त सहमति वीरगञ्ज महानगरपालिका–१२ का वडा अध्यक्ष नरेश प्रसाद को उपस्थितिमा सम्पन्न भएको जनाइएको छस्थानीय अभिभावकहरूले विद्यालय र अभिभावकबीच समन्वय तथा संवादको वातावरण बलियो बन्नु सकारात्मक पक्ष भएको बताएका छन्। उनीहरूले विद्यार्थीको हितलाई केन्द्रमा राखेर विद्यालय प्रशासनले थप संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।