पर्सा पोस्ट , बैशाख २८ गते, वीरगञ्ज ।पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–१, धोरेस्थित कलश मिल्क इन्डस्ट्रिज प्रा.लि.मा अनुगमन टोलीले छापा मार्दै विभिन्न मापदण्ड उल्लंघन भएको फेला पारेको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा उद्योगले खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित गम्भीर कमजोरी गरेको पाइएको हो।
दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको उक्त उद्योगमा दूध, आइसक्रिम, घ्यू, खोवा तथा पनिर उत्पादन हुँदै आएको छ। उद्योगबाट उत्पादित सामग्री बारा, पर्सा र रौतहट जिल्लासम्म बिक्री–वितरण हुँदै आएको बताइएको छ।
अनुगमन टोलीका अनुसार उद्योगले “दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसार पूरा गर्नुपर्ने आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको छ। उद्योग परिसरमा सरसफाइको अभाव, उत्पादनमा प्रयोग हुने मेशिनहरू जिर्ण अवस्थामा रहेको, आवश्यक कागजात अद्यावधिक नगरिएको तथा उत्पादन प्रक्रियामा लापरवाही देखिएको अनुगमन टोलीले जनाएको छ।
उपभोक्ता हित संरक्षण मञ्च पर्साका सदस्य प्रकाश कुमार साहले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता कमजोरीलाई सामान्य रूपमा लिन नसकिने बताउँदै तत्काल सुधार गर्न निर्देशन दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्योगलाई जरिवाना समेत गरिएको छ।
अनुगमनपछि उद्योगलाई लिखित निर्देशन जारी गर्दै “दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसार आवश्यक मापदण्ड किन पूरा नगरिएको भन्ने स्पष्ट कारणसहित २४ घण्टाभित्र सम्पूर्ण कागजात लिएर सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। अन्यथा खाद्य ऐन तथा नियमावली बमोजिम थप कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
स्थानीय बासिन्दा तथा उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य उद्योगहरूले लापरवाही गर्दा आम नागरिकको ज्यान नै जोखिममा पर्ने भन्दै यस्ता उद्योग तथा व्यवसायीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्। उनीहरूले नाफाको लोभमा गुणस्तरहीन तथा अस्वच्छ खाद्य वस्तु उत्पादन गरेर बजारमा पठाउने प्रवृत्तिमाथि राज्यले कठोर निगरानी गर्नुपर्ने बताएका छन्।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्सा, वीरगञ्जका खाद्य निरीक्षक श्रवण कुमार साह, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुलेश प्रसाद साह, जिल्ला प्रशासन कार्यालय पर्साका सोनुराज साह कानु, उपभोक्ता हित संरक्षण मञ्च पर्साका सदस्य प्रकाश कुमार साह, धोरे वडा नं. १ कार्यालयका राजु बाबु कुमार मेहेता तथा सञ्चारकर्मी अभिलाष गुप्तालगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य उद्योग तथा व्यवसायमाथि आगामी दिनमा पनि निरन्तर अनुगमनलाई थप तीव्रता दिइने जनाएको छ।