पर्सा पोस्ट, साउन ३२ गते, वीरगन्ज ।
प्रतीक प्रकाशन समूहले प्रदान गर्दै आएको यस वर्षको ‘सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार’ वीरगन्जका वरिष्ठ पत्रकार तथा फोटो पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गरिएको छ।

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार वीरगन्जमा आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेलले गौतमलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कार हस्तान्तरण गरेका हुन्।
वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई प्रदान गर्दै आएको छ।

समारोहमा यात्रा डेली डटकममा कार्यरत युवा पत्रकार अर्जुन चौधरीलाई ‘स्व. चिरञ्जीवी कोइराला पत्रकारिता (नवप्रतिभा) पुरस्कार’ प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी प्रतीक दैनिकका स्तम्भकार राजेन्द्र कोइराला, संवाददाता चिरञ्जीवी सापकोटा तथा प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले पछिल्लो समय निष्ठापूर्वक र जिम्मेवारीपूर्वक पत्रकारिता गर्ने पत्रकारहरू नै विभिन्न समस्यामा पर्ने अवस्था बढ्दै गएको बताए। पत्रकारिता र राजनीतिमा गलत प्रवृत्ति बढ्दै जाँदा दुवै क्षेत्र बदनाम हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले गलत प्रवृत्तिविरुद्ध असल व्यक्ति तथा जिम्मेवार नागरिकले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए।

उनले समाजलाई सही दिशा दिन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकारले सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राखेर आफ्नो पेशागत धर्म निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता क्षेत्र अहिले विभिन्न चुनौती र समस्याबाट गुज्रिरहेको बताए। उनले राज्यले सञ्चारमाध्यम प्रति पूर्वाग्रही व्यवहार गर्ने गरेको आरोप लगाउँदै सञ्चार क्षेत्रलाई सबल र व्यावसायिक बनाउन राज्यले स्पष्ट नीति तथा सहयोगको वातावरण निर्माण गर्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय राजनीतिक, आर्थिक तथा सामाजिक सरोकारका विषयलाई जनसमक्ष पुर्याउन स्थानीय पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले स्थानीय तथा प्रदेश सरकारले सञ्चारमाध्यमको प्रवर्द्धन र पत्रकारको व्यावसायिक सुरक्षाका लागि अपेक्षित काम गर्न नसकेको गुनासो गरे।
प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा नयाँ अवसर सिर्जना भए पनि चुनौतीहरू पनि उत्तिकै थपिएको बताए। डिजिटल माध्यमको विस्तारसँगै पत्रकारिता थप प्रतिस्पर्धात्मक बन्दै गएको उल्लेख गर्दै उनले विश्वसनीयता कायम राख्नु सञ्चार माध्यमको प्रमुख जिम्मेवारी भएको बताए।

प्रतीक प्रकाशन समूहले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायत सञ्चारकर्मी, पत्रकार, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।