पर्सा पोस्ट, साउन ३१ गते, वीरगञ्ज ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा वीरगञ्जस्थित होटल वृन्दावनमा ‘उपभोक्ता अदालत स्थापना तथा सञ्चालन र नसर्ने रोग रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपालको संविधानको धारा ४४ तथा उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको हक व्यवहारमै कार्यान्वयन गर्न प्रत्येक प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले उपभोक्ता अधिकार संरक्षणका लागि छुट्टै उपभोक्ता अदालत आवश्यक रहेको बताउँदै प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रभावकारी बजार अनुगमन, नियमन र कानुनी संयन्त्रमार्फत गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

मञ्चका केन्द्रीय अध्यक्ष ज्योति वानियाँले उपभोक्ता विवादमा छिटो न्याय सुनिश्चित गर्न उपभोक्ता अदालतको विस्तार आवश्यक रहेको बताए। उनले राज्यका सबै तहका सरकार, न्यायिक निकाय, व्यवसायी, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए। उनका अनुसार हाल काठमाडौं, ललितपुर र भक्तपुरमा उपभोक्ता अदालत सञ्चालनमा रहेको छ।

कार्यक्रममा नेपाल सरकारको २०८३ असार २४ गतेको कार्ययोजनाअनुसार प्रदेश तहमा उपभोक्ता अदालत स्थापना गर्ने प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको थियो। सहभागीहरूले वीरगञ्ज ठूलो व्यापारिक तथा आर्थिक केन्द्र भएकाले मधेश प्रदेशमा उपभोक्ता अदालत स्थापना अझ आवश्यक रहेको बताए।
अन्तरक्रियामा उपभोक्ता अदालतसँगै खाद्यवस्तुको गुणस्तर, लेबलिङ, मूल्य, उत्पादन तथा म्याद, बजार अनुगमन र नसर्ने रोग रोकथामका लागि उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिइयो।

कार्यक्रममा पर्सा जिल्ला अदालतका न्यायाधीश महेन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईं, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण जंग थापा, मधेश विश्वविद्यालयका प्राध्यापक डा. हरेराम ठाकुर, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायतले धारणा राखेका थिए।
कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार विजय भण्डारी, निरज पिठाकोठे, अजित कुमार भुजेल र अजय अधिकारीलाई सम्मान गरिएको थियो।

मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले गरेका थिए। सहभागीहरूले उपभोक्ता अदालत स्थापनालाई नीतिगत निर्णयमा मात्र सीमित नराखी कार्ययोजनाअनुसार तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन्।