१३ दिनदेखि नारायणी अस्पतालमा शव , पत्रकार सम्मेलनमार्फत न्यायको अपिल , लक्ष्मी सिलवाल मृत्यु प्रकरणमा पुन: छानबिन र दोषीमाथी कारवाहीको माग

Date:

पर्सा पोस्ट, साउन १८ गते, वीरगञ्ज ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदनप्रति असहमति जनाउँदै माइती पक्षले शव बुझ्न अस्वीकार गरेपछि शव हालसम्म अस्पतालमै रहेको हो।

ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी तथा दुई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर नजिकैको गोठमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि माइती पक्षले सुरुदेखि नै आत्महत्या नभई हत्या गरेर घटनालाई आत्महत्याको रूप दिइएको आरोप लगाउँदै आएको छ।

सोमबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मृतकका आफन्तले पोस्टमार्टम प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाउँदै घटनाको निष्पक्ष र वैज्ञानिक ढंगले पुनः अनुसन्धान गर्न माग गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै मृतकका मामा इन्द्रबहादुर बस्नेतले लक्ष्मीलाई उनका पति सुधिर सिलवाल, सासु–ससुरा तथा परिवारका अन्य सदस्यले कुटपिट गरी हत्या गरेको आरोप लगाए।

उनका अनुसार घटनास्थलमा फुटेको चुरा, झगडा भएको कोठाबाहिर रगतका दाग तथा अन्य परिस्थितिजन्य प्रमाणहरूले घटना आत्महत्या नभई हत्या भएको संकेत गर्ने दाबी गरे। उनले वास्तविक दोषी पहिचान गरी कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडानसमेत दोहोर्याए।
माइती पक्षले पत्रकार सम्मेलनमार्फत न्यायिक प्रक्रियाप्रति आफूहरू अझै आशावादी रहेको जनाउँदै सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले अदालत, प्रहरी प्रशासन तथा सरकारबाट निष्पक्ष न्याय प्राप्त हुने अपेक्षा राखेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नारायणी अस्पतालबाट प्राप्त पोस्टमार्टम प्रतिवेदनमा पासो लगाएर आत्महत्या गरेको कारण मृत्यु भएको उल्लेख छ। यद्यपि, माइती पक्षले उक्त प्रतिवेदनमाथि नै प्रश्न उठाएकाले अनुसन्धानका सबै पक्षलाई समेटेर प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाकै दिन मृतकका पति सुधिर सिलवाललाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। सासु र ससुरालाई पनि नियन्त्रणमा लिइए पनि वृद्ध अवस्थाका कारण मृतकका आफन्तको सहमतिमा तारेखमा छाडिएको जानकारी प्रहरीले दिएको छ।

मृतकका आफन्तका अनुसार सुधिर सिलवाल नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन्। उनीमाथि लागू पदार्थ सेवन गर्ने, परिवारसँग पटक–पटक विवाद गर्ने तथा श्रीमतीमाथि कुटपिट गर्ने गरेको आरोपसमेत लगाइएको छ। प्रहरीले भने ती सबै आरोपबारे अनुसन्धान जारी रहेको जनाएको छ।
यसअघि साउन ११ गते पनि माइती पक्ष, आफन्त तथा स्थानीयवासीले ठोरीबाट वीरगञ्ज आएर प्रदर्शन गरेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका थिए।

हाल घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ भने पत्रकार सम्मेलनमार्फत न्यायको अपिल गरेका पीडित परिवारले सत्य स्थापित भई दोषीलाई कानुनी दायरामा ल्याइनेमा आफूहरू आशावादी रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...