नेपाल आयल निगमको दाबी – ग्यास पर्याप्त, तर डिलरको गुनासो– उद्योगकै कारण बजारमा कृत्रिम अभाव

Date:

पर्सा पोस्ट ,  साउन १७ गते , बिरगंज , पर्सा ।
बजारमा एलपी ग्यासको अभावबारे उपभोक्ताबाट व्यापक गुनासो आइरहेका बेला नेपाल आयल निगमले भने ग्यासको आपूर्ति नियमित रहेको र बजारमा कुनै अभाव नरहेको जनाएको छ। यता ग्यास विक्रेताहरूले भने ग्यास उद्योगहरूले मागअनुसार र समयमा ग्यास उपलब्ध नगराउँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको बताएका छन्।

नेपाल आयल निगमले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा दैनिक मागअनुसार एलपी ग्यासको आयात तथा आपूर्ति नियमित भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभावसम्बन्धी समाचार प्रकाशित भएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निगमले बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको जनाएको छ। साथै विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।

काठमाडौं उपत्यकामा बढी माग हुने ब्रान्डहरूको आपूर्ति सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गर्दै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि अनुरोध गरेको छ।

तर, ग्यास विक्रेताहरूले निगमको दाबी व्यवहारमा लागू नभएको बताएका छन्। नाम नखुलाउने सर्तमा एक ग्यास डिलरले उद्योगहरूले मागबमोजिम ग्यास उपलब्ध नगराउने, धेरै दिनको अन्तरालमा मात्र ग्यास पठाउने, आवश्यकताभन्दा बढी डिलर नियुक्त गर्ने तथा विभिन्न उद्योग, प्रतिष्ठान र ठूला होटलहरूलाई कम्पनीले सिधै ग्यास उपलब्ध गराउँदा सर्वसाधारण उपभोक्ताले ग्यास नपाउने अवस्था सिर्जना भएको आरोप लगाए।

मनोज ग्यास उद्योगका एक डिलरले आफूले एक सातादेखि कम्पनीसँग ग्यास माग गर्दै आए पनि पर्याप्त ग्यास नपाएको बताए। उनका अनुसार उपभोक्ताहरू दैनिक पसलमा आएर ग्यास माग्ने, नपाउँदा आक्रोश व्यक्त गर्ने र त्यसको प्रत्यक्ष असर व्यवसायमा परेको छ।

“कम्पनीले आज–भोलि भन्दै टारिरहेको छ। हामीले नियमित ग्राहकहरूको नाम दर्ता गरेर ग्यास आएपछि आलोपालो वितरण गरिरहेका छौं। तर उपभोक्ताले ग्यास नपाउँदा कालोबजारी गरेको आरोपसमेत हामीमाथि लाग्ने गरेको छ,” ती डिलरले बताए।

उनका अनुसार बजारमा देखिएको समस्या समाधान गर्न निगमले ग्यास उद्योगका प्रतिनिधिलाई समेत सहभागी गराएर संयुक्त बजार अनुगमन गर्नुपर्ने आवश्यकता छ। कुन उद्योगले कुन डिलरलाई कहिले र कति ग्यास उपलब्ध गराएको छ भन्ने अभिलेख सार्वजनिक गरी त्यसको आधारमा अनुगमन गरिए कृत्रिम अभावको वास्तविक अवस्था बाहिर आउने उनको भनाइ छ।

यसैबीच, उपभोक्ता हित संरक्षण मञ्च नेपालले पनि ग्यास उद्योगहरूले निजी व्यावसायिक स्वार्थलाई प्राथमिकता दिँदै १४.२ केजीको घरायसी रातो सिलिन्डरभन्दा बाहिर ४५० केजी र ५० केजी क्षमताका एलपी ग्यास सिलिन्डर विभिन्न उद्योग तथा प्रतिष्ठानमा जडान गरी बिक्री–वितरण गरिरहेको विषय पटक–पटक उठाउँदै आएको जनाएको छ।

मञ्चका अनुसार नेपाल आयल निगमले १४.२ केजीको घरायसी एलपी ग्यास सिलिन्डर बाहेक अन्य क्षमताका सिलिन्डरमा ग्यास फिलिङ तथा बिक्री–वितरणको अनुमति दिएको छैन। तर केही उद्योगले यस्तो कार्य गर्दै आएको आरोप लगाउँदै त्यसको प्रभावकारी अनुगमन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य अजित कुमार भुजेलले पनि ग्यास उद्योगबाट डिलरसम्म र डिलरबाट उपभोक्तासम्मको सम्पूर्ण बिक्री–वितरण प्रणाली पारदर्शी बनाइ प्रत्येक उद्योगले कुन विक्रेतालाई कहिले र कति ग्यास उपलब्ध गराएको तथा त्यसको वास्तविक वितरण अवस्था अभिलेख राखेर नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्।

एकातर्फ नेपाल आयल निगमले बजारमा ग्यासको पर्याप्त आपूर्ति भइरहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ डिलरहरू उद्योगबाट समयमा र पर्याप्त ग्यास नपाउँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको बताइरहेका छन्। यसले वास्तविक समस्या आपूर्तिमा हो वा वितरण प्रणालीमा भन्ने विषयमा सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र निष्पक्ष छानबिनको आवश्यकता देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...