पर्सा पोस्ट, साउन १७ गते, वीरगञ्ज।
वीरगञ्जस्थित नेपाल–भारत सीमाको प्रमुख प्रवेशद्वार मितेरी पुल क्षेत्रमा वर्षौंदेखि देखिएको खानेपानी समस्याको अब समाधान हुने भएको छ। ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरको पहलमा उक्त क्षेत्रमा छिट्टै खानेपानी ट्याङ्की स्थापना गर्ने तयारी गरिएको छ।

आइतबार ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा गएको टोलीले मितेरी पुल क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीयवासी, बटुवा, सुरक्षाकर्मी तथा टेम्पु चालकसँग छलफल गरेको थियो। निरीक्षणका क्रममा अध्यक्ष खेतानले आगामी २० दिनभित्र खानेपानीको समस्या समाधान हुने गरी आवश्यक काम अघि बढाइने जानकारी दिनुभयो।
उहाँका अनुसार ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको पहल तथा रुङटा वेलफेयर सोसाइटीको सहयोगमा मितेरी पुल क्षेत्रमा सार्वजनिक खानेपानी ट्याङ्की जडान गरिनेछ, जसबाट दैनिक आवतजावत गर्ने हजारौं सर्वसाधारण, स्वदेशी तथा विदेशी पर्यटक, सुरक्षाकर्मी र सवारी चालक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले “जहाँ समस्या, त्यहाँ उपाय” भन्ने उद्देश्यलाई आत्मसात् गर्दै मितेरी पुल क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको छ। यसअघि वर्षौंदेखि उपेक्षित रहेको क्षेत्रमा नियमित सरसफाइ अभियान सञ्चालन गरिएको, हरियाली प्रवर्द्धनका लागि वृक्षरोपण गरिएको, सडक बत्तीको व्यवस्था गरिएको तथा क्षेत्रलाई आकर्षक बनाउन आवश्यक पूर्वाधार विकास गरिएको थियो।
विशेषगरी शङ्कराचार्य गेट आसपासको क्षेत्रलाई पर्यटकमैत्री बनाउने उद्देश्यले गरिएको सौन्दर्यीकरणपछि अहिले उक्त स्थान सेल्फी खिच्ने लोकप्रिय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। तर पछिल्लो समय त्यहाँ खानेपानीको अभावका कारण स्थानीयवासी तथा यात्रुहरूले सास्ती खेप्दै आएका थिए।

स्थानीय टेम्पु चालकहरूले प्रचण्ड गर्मीमा खानेपानीको अभावले यात्रु, सर्वसाधारण र ड्युटीमा खटिने सुरक्षाकर्मीलाई निकै समस्या हुने गरेको बताउँदै अब सार्वजनिक खानेपानी ट्याङ्की स्थापना भएपछि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासीले पनि ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सक्रिय पहलको प्रशंसा गर्दै वर्षौंदेखिको समस्याले अब निकास पाउने अपेक्षा गरेका छन्। अध्यक्ष खेतानले आगामी दिनमा पनि समुदायका आवश्यकतालाई प्राथमिकतामा राखी यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।