पर्सा पोस्ट , साउन १७ गते , वीरगञ्ज ।
लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘सरी मम’ को विशेष प्रदर्शन शनिबार वीरगञ्जस्थित ए–म्याक्स सिनेमा हलमा सम्पन्न भएको छ।
एन.एफ.आई. क्रियसन प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगञ्ज, सिमरा र कलैया क्षेत्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रदर्शन गरिएको चलचित्रले लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समग्र समाजमा पर्ने नकारात्मक प्रभावलाई यथार्थपरक ढंगले चित्रण गरेको थियो। विशेष गरी युवापुस्ता लागूऔषधको कुलतमा फस्दा उत्पन्न हुने सामाजिक, आर्थिक तथा मानसिक समस्यालाई मार्मिक रूपमा प्रस्तुत गरिएको चलचित्रले दर्शकहरूलाई भावुक बनाएको थियो।
चलचित्र अवलोकनपछि सहभागी शिक्षकहरूले लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउन यस्ता सन्देशमूलक चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरे। उनीहरूले विद्यालय तहदेखि नै विद्यार्थीलाई लागूऔषधको दुष्परिणामबारे जानकारी गराउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमलाई सम्बोधन गर्दै हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले लागूऔषध दुर्व्यसन आजको समाजको गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक, समुदाय तथा सरोकारवाला निकायबीच समन्वयात्मक अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले चलचित्रले विद्यार्थी तथा युवामा सकारात्मक सोच, जिम्मेवारीबोध र सही जीवनशैली विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यार्थीलाई औपचारिक शिक्षासँगै नैतिक शिक्षा, जीवनोपयोगी सीप तथा सामाजिक चेतनाको पनि उत्तिकै आवश्यकता रहेको बताए। उनले विद्यालयहरूले समय–समयमा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई कुलतबाट टाढा राख्न विशेष पहल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौला, वरिष्ठ महिला उपाध्यक्ष सुशिला साह, एन–प्याब्सनका जियालाल गुप्ता, सोनालाल पटेल, अलोक चौरसियालगायत विभिन्न विद्यालयका शिक्षक तथा शिक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्रका निर्माता विनोद लामाले ‘सरी मम’ मनोरञ्जनका लागि मात्र नभई समाजलाई सकारात्मक सन्देश दिन निर्माण गरिएको बताए। उनले लागूऔषधको कुलतमा फसेका युवाको पीडा, परिवारले भोग्नुपर्ने कठिन अवस्था र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायलाई चलचित्रमार्फत प्रस्तुत गरिएको जानकारी दिए। आगामी दिनमा देशका विभिन्न शहरमा पनि यस्ता विशेष प्रदर्शनलाई निरन्तरता दिइने उनले बताए।
कार्यक्रममा सहभागीहरूले लागूऔषधमुक्त समाज निर्माणका लागि विद्यालय, अभिभावक, सञ्चारमाध्यम तथा सामाजिक संस्थाहरूको संयुक्त प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गर्दै यस्ता सन्देशमूलक चलचित्रलाई व्यापक रूपमा प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।