पर्सा पोस्ट, साउन १६ गते, रक्सौल (पूर्वी चम्पारण)।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले जीवनलाई सकारात्मक सोच, धैर्य, प्रेम र सेवाभावका साथ जिउन आग्रह गर्नुभएको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जीवनलाई सुख–दुःख, सफलता–असफलता र संघर्ष–उपलब्धिको समिश्रणबाट बनेको मधुर सङ्गीतको संज्ञा दिँदै प्रत्येक परिस्थितिलाई सहज रूपमा स्वीकार गर्न सके मात्र वास्तविक आनन्द प्राप्त हुने बताउनुभयो।
उहाँले भौतिक सुविधासँगै मानसिक शान्ति घट्दै गएको उल्लेख गर्दै चिन्ता, तनाव, ईर्ष्या र अनावश्यक अपेक्षाले जीवनको मधुरता हराउँदै गएको धारणा राख्नुभयो। गुनगुनाउनु भनेको केवल गीत गाउनु नभई आशावादी सोच, मुस्कान र सकारात्मक ऊर्जा बोकेर जीवन जिउनु भएको उहाँको भनाइ थियो।
सर्राफले मधुर वाणी, विनम्रता, प्रेम, करुणा, सेवा र क्षमालाई सफल जीवनका आधारस्तम्भ बताउँदै अहंकार, क्रोध र ईर्ष्याबाट टाढा रहन आग्रह गर्नुभयो। उहाँले कठिन समय स्थायी नहुने उल्लेख गर्दै धैर्य, विश्वास र आत्मबल कायम राखेपछि सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार जीवनको वास्तविक सफलता धन वा पदमा नभई आफ्नो व्यवहारबाट अरूको जीवनमा आशा, मुस्कान र आत्मविश्वास जगाउन सक्नुमा निहित छ। अन्त्यमा उहाँले गुनासोभन्दा कृतज्ञता, निराशाभन्दा आशा र तनावभन्दा मुस्कानलाई रोज्दै प्रेम, सेवा र सकारात्मक सोचका साथ जीवनलाई प्रेरणादायी बनाउने आग्रह गर्नुभयो।