पर्सा पोस्ट, साउन १६ गते, वीरगञ्ज।
राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। युवापुस्तामा सार्वजनिक वक्तृत्वकला, तार्किक सोच, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित कार्यक्रममा समाजसेवी तथा उद्योगपति जगदीश अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर तर्क, विश्लेषण र प्रभावकारी अभिव्यक्ति विकास गर्न आग्रह गर्दै यस्ता प्रतियोगिताले भविष्यका सक्षम नेतृत्व तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष ज्योति क्याल तथा वीरगञ्ज टोस्टमास्टर्स क्लबकी अध्यक्ष खुशी अग्रवालले सहभागी विद्यार्थीलाई निरन्तर अध्ययन, नियमित अभ्यास र नेतृत्व विकासमा केन्द्रित हुन प्रेरित गरेका थिए। उनीहरूले ज्ञान, अनुशासन, सञ्चार सीप र सकारात्मक सोचको संयोजनबाट नै सफल व्यक्तित्व निर्माण हुने धारणा व्यक्त गरे।

प्रतिष्ठानले आफ्नो मुख्य उद्देश्य दूरदर्शी नेतृत्व विकास, आजीवन सिकाइको संस्कारको प्रवर्द्धन, साहित्य तथा सामाजिक चेतनाको विस्तार र उद्यमशीलताको अभिवृद्धिमार्फत नैतिक, समुन्नत तथा समृद्ध समाज निर्माण गर्नु रहेको जनाएको छ। संस्थाले ज्ञान, नेतृत्व, सेवा र समृद्धि लाई आफ्नो मूल मूल्यका रूपमा आत्मसात गर्दै विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि दिएको छ।
कार्यक्रममा समाजसेवी एवं उद्योगपति गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मानवसेवा आश्रमका देवेश गुप्ता, शिक्षाविद् राजेन्द्र कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यलगायत विभिन्न शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको फाइनल चरणमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरूले ‘इन्टरनेटका फाइदा र बेफाइदा’ तथा ‘सामाजिक सञ्जालका फाइदाभन्दा बेफाइदा बढी छन्’ विषयमा पक्ष–विपक्षमा तर्क प्रस्तुत गर्दै प्रभावशाली बहस गरेका थिए। सहभागीहरूले तथ्य, उदाहरण र तार्किक विश्लेषणसहित आफ्ना धारणा प्रस्तुत गर्दा कार्यक्रम निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो। इम्प्रोम्प्टु (आकस्मिक) वक्तृत्वतर्फ पनि विद्यार्थीहरूले छोटो तयारीमै आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दिएका थिए।
आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चार कला, सार्वजनिक प्रस्तुति क्षमता, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। आगामी वर्षहरूमा पनि अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।