पर्सा पोस्ट, साउन १५ गते, वीरगञ्ज ।
विश्वभरका पत्रकारबीच सहकार्य, व्यावसायिक क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सार्क पत्रकार मञ्च र अन्तरमहादेशीय पत्रकार सञ्जाल (आईसीजे) ग्लोबल मिडिया ग्रुपबीच तीन वर्षे रणनीतिक साझेदारीसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले अमेरिकाको न्युयोर्कबाट तथा अन्तरमहादेशीय पत्रकार सञ्जाल (आईसीजे) ग्लोबल मिडिया ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत साशा डोब्रिजेभिच (Saša Dobrijević) ले सर्बियाको बेलग्रेडबाट डिजिटल माध्यममार्फत हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार दुवै संस्थाले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको विकास, व्यावसायिक मापदण्डको सुदृढीकरण तथा दक्षिण एसिया र विश्वका विभिन्न मुलुकका पत्रकारबीच सहकार्य विस्तार गर्न संयुक्त रूपमा काम गर्नेछन्। प्रेस स्वतन्त्रताको संरक्षण, नैतिक पत्रकारिताको प्रवर्द्धन र पत्रकारहरूको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा समेत दुवै संस्थाले प्राथमिकता दिने जनाइएको छ।
सम्झौताअन्तर्गत सार्क पत्रकार मञ्च अन्तरमहादेशीय पत्रकार सञ्जालको संस्थागत मित्र सञ्जाल (Institutional Partner Network) मा आबद्ध हुनेछ। दुवै संस्थाले एकअर्काका आधिकारिक लोगो तथा वेबसाइटलाई आफ्ना डिजिटल प्लेटफर्ममा समावेश गर्ने, गतिविधि तथा उपलब्धिहरूलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने र संस्थागत परिचयलाई विश्वव्यापी सञ्चार सञ्जालमा विस्तार गर्ने सहमति गरेका छन्।
यस साझेदारीपछि सार्क पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरूलाई आईसीजे ग्लोबल मिडिया ग्रुपको सदस्यता लिन प्रोत्साहन गरिनेछ। सदस्य बनेपछि उनीहरूले अन्तर्राष्ट्रिय सञ्चार सञ्जालमा पहुँच, व्यावसायिक तालिम, अनुसन्धानमूलक पत्रकारितासम्बन्धी अवसर, अन्तर्राष्ट्रिय प्रकाशन, अन्तर्राष्ट्रिय प्रेस परिचयपत्र, विश्वस्तरीय सञ्चार संवादमा सहभागिता तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मानका लागि योग्य हुने अवसर प्राप्त गर्नेछन्। विशेष सदस्यहरूले आफ्ना खोजमूलक तथा विशेष समाचार सामग्रीलाई आईसीजेको अन्तर्राष्ट्रिय सामग्री आदान–प्रदान प्रणालीमार्फत विश्वव्यापी रूपमा प्रकाशन तथा वितरण गर्न सक्नेछन्।
समझदारी पत्रले संयुक्त परियोजना सञ्चालन, सूचना आदानप्रदान, अनलाइन अन्तरक्रिया, वेबिनार, तालिम, पत्रकारिता अनुसन्धान तथा अन्तर्राष्ट्रिय समन्वयात्मक कार्यक्रम सञ्चालनका लागि समेत मार्ग प्रशस्त गरेको छ। यसबाट दक्षिण एसियाली पत्रकारहरूको सीप, अनुभव र अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
सम्झौतामा यो सहकार्य पूर्ण रूपमा सद्भाव, आपसी विश्वास र संस्थागत सहयोगमा आधारित रहेको तथा यसबाट कुनै कानुनी, आर्थिक वा व्यावसायिक दायित्व सिर्जना नहुने स्पष्ट उल्लेख गरिएको छ। प्रारम्भिक रूपमा तीन वर्षका लागि लागू हुने उक्त समझदारी आपसी लिखित सहमतिमा नवीकरण गर्न सकिनेछ भने कुनै पनि पक्षले ६० दिनअघि लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था पनि राखिएको छ।
पत्रकारिता क्षेत्रका जानकारहरूले यस सहकार्यलाई दक्षिण एसियाली पत्रकारहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने, विश्वव्यापी सञ्चार सञ्जालसँग जोड्ने तथा प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। यसले सार्क क्षेत्रका पत्रकारहरूलाई विश्वस्तरीय अवसरसँग जोड्दै ज्ञान, अनुभव र स्रोत–साधन आदानप्रदानका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।