पर्सा पोस्ट, साउन १५ गते, वीरगञ्ज ।
रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गत सञ्चालन भइरहेको रोटरी कृत्रिम हात परियोजना मार्फत निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका–४, नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरबाट सञ्चालन भइरहेको यस सेवामार्फत हालसम्म ११०० भन्दा बढी कृत्रिम हात तथा खुट्टा वितरण गरिएको केन्द्रले जनाएको छ। कार्यक्रमका संयोजक डा. शाश्वत प्रसादका अनुसार सन् २०२१ देखि सञ्चालनमा आएको परियोजनाले पाँच वर्षको अवधिमा ११०० भन्दा बढी हात तथा खुट्टा गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराइसकेको छ।
बिहीबार सम्पन्न कार्यक्रममा पाल्पा तथा पोखरा क्षेत्रबाट आएका चार जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो।
सेवा प्राप्त गर्नेहरूमध्ये पूर्व भारतीय सेनाका दिलबहादुर बुढाथोकीले भारत–पाकिस्तान सीमामा ड्युटीका क्रममा भएको एम्बुस (घात) मा परी आफ्नो खुट्टा गुमाएको बताए। त्यसैगरी वसन्तबहादुरले दुर्घटनामा खुट्टा गुमाएका हुन् भने माधव डिसाले दुर्घटनाका कारण हात गुमाएका थिए। अर्का लाभग्राही रुकबहादुरले पनि दुर्घटनाकै कारण खुट्टा गुमाएका थिए।
निःशुल्क कृत्रिम हात तथा खुट्टा प्राप्त गरेपछि चारै जनाले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै यस सेवाले आफूहरूलाई नयाँ जीवन जिउने आत्मविश्वास र आशा प्रदान गरेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा परियोजनाका संयोजक डा. शाश्वत प्रसाद, रोटरी क्लब अफ वीरगञ्जका सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरीलगायत अन्य रोटेरियनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै उनीहरूलाई पुनः आत्मनिर्भर र सामान्य जीवनयापनतर्फ फर्काउन रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले महत्त्वपूर्ण सामाजिक योगदान पुर्याउँदै आएको छ।