पर्सा पोस्ट, असार २९ गते, वीरगञ्ज।
National Medical College मा बी.एस्सी. नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको सम्मानमा भव्य तथा भावपूर्ण बिदाइ कार्यक्रम सम्पन्न भएको छ। अध्ययन अवधि सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूको उज्ज्वल व्यावसायिक भविष्यको कामना गर्दै कलेज परिसरमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता नर्सिङ निर्देशक प्रा. गंगा गुरुङले गर्नुभएको थियो भने कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रिन्सिपल प्रा. डा. के.एन. सिंह, एडमिशन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान, नर्सिङ क्याम्पसकी भाइस–प्रिन्सिपल प्रा. डा. बबिता सिंह तथा मेट्रोन विकास कुमारलगायत शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रम दीप प्रज्वलनसँगै औपचारिक रूपमा उद्घाटन गरिएको थियो। त्यसपछि स्वागत मन्तव्य, स्वागत नृत्य, विद्यार्थीहरूको बिदाइ मन्तव्य तथा अतिथिहरूका शुभकामना सन्देश प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नर्सिङ पेशा केवल रोजगारको माध्यम नभई सेवा, समर्पण र मानवीय संवेदनासँग जोडिएको पवित्र जिम्मेवारी भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो पेशागत जीवनमा इमान्दारिता, अनुशासन र सेवाभावलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिले स्नातक विद्यार्थीहरूलाई खादा ओढाई मायाको चिनो प्रदान गर्दै सफल व्यावसायिक जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। साथै, विद्यार्थीहरूले कलेजमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्रको स्वास्थ्य सेवामा समर्पित गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। विशेष भिडियो प्रस्तुति मार्फत उनीहरूले कलेजमा बिताएका अविस्मरणीय क्षण, अध्ययनका अनुभव तथा साथीभाइ र शिक्षकहरूसँगको आत्मीय सम्बन्धलाई स्मरण गरेका थिए, जसले कार्यक्रमलाई थप भावुक र स्मरणीय बनाएको थियो।

अन्त्यमा धन्यवाद ज्ञापन, केक काट्ने, जलपान तथा सामूहिक तस्बिर खिच्ने कार्यक्रम सम्पन्न भएको थियो। भावनात्मक वातावरणबीच सम्पन्न उक्त कार्यक्रमले बी.एस्सी. नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको शैक्षिक यात्राको सफल समापनसँगै उनीहरूको उज्ज्वल र सफल भविष्यको शुभकामना व्यक्त गरेको आयोजकले जनाएको छ।