पर्सा पोस्ट, असार २७ गते, वीरगञ्ज ।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले वीरगञ्ज महानगरपालिका–१६ नगवा स्थित माइधिया पोखरी छेउमा अवस्थित गणिनाथ गोविन्द बाबा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वरिष्ठ समाजसेवी एवं अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देश दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले ग्लोबल वार्मिङका कारण विश्वव्यापी रूपमा वातावरणमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै वातावरण संरक्षणका लागि वृक्षारोपण आजको अपरिहार्य आवश्यकता बनेको बताए। उनले सबैलाई निरन्तर वृक्षारोपण गरी त्यसको संरक्षण र सम्मान गर्न आग्रह गर्दै भने, “हामी सबै मिलेर रुख–बिरुवा रोपौं र त्यसको संरक्षण गरौं। हाम्रो र आउने सन्ततिको लागि स्वच्छ वातावरण छाडेर जानुपर्छ।”

प्रतिष्ठानकी अध्यक्ष मुना खनालले प्रकृति मानव जीवनको आधार भएको उल्लेख गर्दै “रुख रोपौं, वातावरण जोगाऔं र आउने सन्ततिको भविष्य स्वस्थ बनाऔं” भन्ने सन्देशका साथ कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि तथा प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गरिन्।
त्यसैगरी, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा का सभापति बृजकिशोर पटेलले वृक्षारोपणले मानव स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यवादसमेत दिए।
त्यस्तै, प्रकृति सेवा प्रतिष्ठान नेपाल का संस्थापक अध्यक्ष जसपाल सिंहले विगतमा प्रकृतिको दोहनका कारण बाढी, पहिरो, सुख्खा, डढेलो, हावाहुरी तथा विभिन्न महामारीजस्ता समस्या भोग्नुपरेको उल्लेख गर्दै आगामी पुस्ताका लागि वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए। उनले आफ्नो आसपासको सरसफाइ, नियमित वृक्षारोपण तथा त्यसको संरक्षणमा जोड दिए।

कार्यक्रममा नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिर, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्राध्यापक डा. हरेराम ठाकुर, धार्मिक अगुवा सन्तोष पटेल, आर्य समाज पर्सा का अध्यक्ष रितेश गुप्ता, रेल्वे माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, प्रकृति सेवा प्रतिष्ठान नेपालका सदस्य भोला प्रसाद, ज्ञानमाया रायमाझी, राजु भट्टराई, सुरज कुमार तथा प्रतिष्ठानका सदस्य नवराज भट्टराई, पवन श्रेष्ठ, अभिला गुप्ता, सञ्चारकर्मी मनोज मिश्रा, आनन्द पटेल, आकाश पटेल, राकेश कुमार लगायत स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रवणबहादुर रायमाझीले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण लालबाबु सिंहले गरेका थिए।
यस अवसरमा प्रतिष्ठानकी अध्यक्ष मुना खनालले शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले विगतदेखि नै शैक्षिक, सामाजिक तथा मानवीय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनका अनुसार प्रतिष्ठानले शैक्षिक क्षेत्रमा सहयोग, रक्तदान कार्यक्रम, गर्मी महिनामा चिसो सर्वत तथा पिउने पानी वितरण, सरसफाइ अभियान, युवाहरूमाझ साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई सम्मान समेत गरेको छ।
अध्यक्ष खनालले आगामी दिनहरूमा पनि समाजप्रति उत्तरदायी विभिन्न रचनात्मक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरिन्।