पर्सा पोस्ट , असार १८ गते , वीरगञ्ज ।
अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१७, अलौ टोलस्थित एक स्थानमा सञ्चालन भइरहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेको छ।
प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापामार कारबाही गर्दा घरेलु मदिरा उत्पादनका लागि प्रयोग हुँदै आएको भट्टी फेला पारी नष्ट गरेको प्रहरीले जनाएको छ। साथै मदिरा उत्पादनमा प्रयोग हुने सामग्रीसमेत नियन्त्रणमा लिइएको बताइएको छ।
प्रहरीका अनुसार पर्सा जिल्लाभर अवैध घरेलु मदिरा उत्पादन, ओसारपसार तथा बिक्री वितरण नियन्त्रण गर्न सर्च अपरेशनलाई निरन्तरता दिइएको छ। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा अवैध गतिविधि नियन्त्रण गर्न आम नागरिकसँग समेत सहयोगको अपिल गरेको छ। प्रहरीले अवैध मदिरा उत्पादन तथा बिक्री वितरण सम्बन्धी सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।