पर्सा पोस्ट , असार १८ गते , बिरगंज ।
उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले बारा जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालित होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको संयुक्त अनुगमन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाइमा सम्पन्न अनुगमन निजगढ, कलैया तथा प्रसौनी क्षेत्रका विभिन्न खाद्य व्यवसायमा केन्द्रित रहेको थियो। सम्बन्धित निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले खाद्य व्यवसाय सञ्चालनको अवस्था, सरसफाइ, खाद्य सामग्रीको भण्डारण, प्रयोग गरिने कच्चा पदार्थ तथा गुणस्तरसम्बन्धी विषयमा स्थलगत निरीक्षण गरेको हो।
अनुगमनका क्रममा कतिपय व्यवसायिक प्रतिष्ठानमा खाद्य स्वच्छता तथा सुरक्षा मापदण्ड पालना नगरेको, पुरानो तेल पुनः प्रयोग गरिएको, खाद्य सामग्री असुरक्षित ढंगले भण्डारण गरिएको तथा सरसफाइमा लापरवाही गरिएको भेटिएको कार्यालयले जनाएको छ। मापदण्ड विपरीत सञ्चालन गरिएको एक प्रतिष्ठानलाई प्रचलित कानुनअनुसार १० हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश कुमार सिंहका अनुसार व्यवसायीलाई भान्सा तथा पसल परिसर सधैं सफा राख्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ तथा किराफट्याङ्ग्राबाट जोगाउन र अखाद्य तथा प्रतिबन्धित रङ प्रयोग नगर्न कडाइका साथ निर्देशन दिइएको छ।
त्यसैगरी खाना पकाउन प्रयोग हुने तेलको गुणस्तरमा विशेष ध्यान दिन, पटक–पटक प्रयोग गरिएको तेल पुनः प्रयोग नगर्न, म्याद नाघेका खाद्य सामग्री बिक्री नगर्न तथा खाद्य वस्तु उचित तापक्रममा सुरक्षित रूपमा भण्डारण गर्न व्यवसायीलाई सचेत गराइएको उनले बताए।
कार्यालयले खाद्य गुणस्तरमा लापरवाही गर्ने, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गतिविधि गर्ने जो–कोहीलाई उपभोक्ता संरक्षण ऐन २०७५ तथा खाद्य स्वच्छता एवं गुणस्तर सम्बन्धी कानुनी व्यवस्थाअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
“उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुँदैन,” कार्यालयले जनाएको छ, “आगामी दिनमा पनि बजार अनुगमनलाई थप प्रभावकारी र नियमित बनाइनेछ।”
साथै सबै खाद्य व्यवसायीलाई स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ भने उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा लेबल, उत्पादन मिति, म्याद अवधि, गुणस्तर चिन्ह तथा प्याकेजिङ अनिवार्य रूपमा जाँच गरेर मात्रै प्रयोग गर्न अनुरोध गरिएको छ।
विशेषगरी खुला रूपमा बिक्री गरिने खाद्य सामग्री, अत्यधिक रङ प्रयोग गरिएका मिठाई तथा लामो समयदेखि भण्डारण गरिएका खाद्य वस्तु उपभोग गर्दा सचेत रहन उपभोक्तालाई आग्रह गरिएको छ। उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने सम्बन्धित निकायले स्पष्ट पारेको छ।