पर्सा पोस्ट , असार ०६ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–१९ मा आयोजित “श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता” शुक्रबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलले प्रमुख अतिथिको रूपमा सहभागी भई गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै आयोजक संस्था श्री बिन्दवासिनी माई युवा क्लबलाई धन्यवाद तथा बधाई दिएका थिए। उनले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ तथा जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाबीच आपसी सद्भाव, एकता र सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा रास्वपाका वीरगञ्ज महानगर अध्यक्ष दिपराज पटेल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। उनले स्थानीय स्तरमा खेलकुद गतिविधिको विस्तारले प्रतिभाशाली खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै प्रतियोगिता आयोजना गर्नु सकारात्मक पहल भएको धारणा राखे।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न स्थानीय तथा क्षेत्रीय टोलीहरूको सहभागिता रहनेछ। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान तथा क्रिकेट संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताको पहिलो खेल उद्घाटनपछि उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
आयोजक क्लबले प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यवस्थित र बृहत् रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको समेत जानकारी दिएको छ।