पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पताल प्राङ्गणमा विगत तीन वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रम यस सातापनि सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छ। प्रत्येक शनिबार बिहान ९ः३० बजेदेखि सञ्चालन हुने उक्त सेवा अभियानलाई यसपटक श्री सत्य साई सेवा केन्द्र वीरगञ्ज, पर्साले खाद्यान्न सहयोग गर्नुका साथै प्रत्यक्ष सेवामा समेत सहभागिता जनाएको छ।

वीरगञ्ज समाज सेवाको आयोजनामा सञ्चालन भइरहेको उक्त अभियानले अस्पतालमा उपचाररत बिरामी, कुरुवा, असहाय, विपन्न नागरिक, रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवाहरूलाई घरमै पकाइएको जस्तै सफा, शुद्ध, पोषणयुक्त तथा गुणस्तरीय भोजन प्रदान गर्दै आएको छ।
आजको भोजन कार्यक्रममा स्वादिलो भात, दाल, कोभी–आलुको मिक्स तरकारी, हरियो भुटेको खुर्सानीको अचार तथा हरियो काक्रो लगायतका शुद्ध शाकाहारी परिकार वितरण गरिएको थियो। कार्यक्रममा सहभागी सेवकहरूले वृद्धवृद्धा, महिला तथा बालबालिकालाई बोलाइ–बोलाइ थपेर भोजन गराउँदै आत्मीय सेवा प्रदान गरेका थिए।
@
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै तीन वर्षअघि माइस्थान मन्दिर प्राङ्गणबाट केही साथीहरूको सहकार्यमा सेवा अभियान सुरु गरिएको स्मरण गर्नुभयो। उहाँले नारायणी अस्पतालजस्तो अधिकांश विपन्न तथा असहाय नागरिक उपचारका लागि आउने स्थानमा निरन्तर निशुल्क भोजन सेवा गर्न पाउँदा अत्यन्त खुशी र गर्व महसुस भएको बताउनुभयो।
उहाँले श्री सत्य साई सेवा संगठन परिवारले दोस्रो पटक चामल, दाल, तेल, आलु लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुका साथै प्रत्यक्ष सेवामा सहभागी भएकोमा विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण दाता, सल्लाहकार, पदाधिकारी, सदस्य तथा सेवकजनप्रति हार्दिक आभार प्रकट गर्नुभयो।
त्यसैगरी, श्री सत्य साई सेवा संगठन पर्साका अध्यक्ष कर्णले दुःखी, असहाय र पीडितहरूको सेवामा समर्पित हुने व्यक्तिलाई ईश्वरले सदैव आफ्नो प्रिय बनाउने उल्लेख गर्दै सबैलाई हातेमालो गर्दै सामाजिक सेवामा लाग्न आग्रह गर्नुभयो। उहाँले नारायणी अस्पतालमा उपचारका लागि टाढाटाढाबाट आउने विपन्न नागरिकलाई घरजस्तै स्वादिलो तथा पोषणयुक्त भोजन निशुल्क खुवाउने कार्य अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। आगामी दिनमा पनि संस्थाले सक्दो सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री सत्य साई सेवा संगठन वीरगञ्जका पदाधिकारी सदस्यहरू, सामाजिक अभियन्ता लालबाबु सिंह, समाजका सदस्य निशान्त लाठ, कल्पना किङरिङ, मुकेश अग्रवाल, रामबाबु गुप्ता, बजरङ अग्रवाल, शंकर राई, सांचे मगर लगायतले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।
@